बोसन डाँडा : नेपाल नियाल्ने प्राकृतिक भ्यु टावर 

पर्यटन बजार२६ बैशाख २०७९, सोमबार मा प्रकाशित

बोसन डाँडा : नेपाल नियाल्ने प्राकृतिक भ्यु टावर 

लोक राज रुम्दाली

वैशाख २७ , काठमाडौँ । उति बेला नेपाल भन्नाले काठमाडौँ, भक्तपुर र ललितपुर उपत्यकालाई मात्र चिनिन्थ्यो । अहिले नेपाल भन्नाले ७५३ स्थानीय तह, ७ प्रदेश, ७७ जिल्लालाई चिनिन्छ । इतिहास कसरी जितेर समग्र नेपाल बन्यो त्यो इतिहासविद् पनि स्पष्ट छैनन् । तर, यी तीन जिल्लालाई अहिले उपत्यका भनिन्छ । हो, यहीँ पुरानो ‘नेपाल खाल्डो’ उपत्यकालाई नियाल्ने एउटै मात्र थुम्का हो, बोसोन डाँडा अर्थात् ह्वाइट हाउस ।

बोसोन डाँडालाई ह्वाइट हाउस भनेर पनि चिनिन्छ । काठमाडौंको चम्पादेवी डाँडाको काखैमा पल्टिएको यो डाँडाको इतिहास निकै रोचक छ । एक जना बुद्धिस्ट थिए । उनी स्वयम्भूबाट आएर त्यहाँबाट त्यति बेलाको नेपाल नियाल्थे । कयौँ दिन बस्थे, स्वयम्भू फर्किन्थे र मन लागेपछि फेरि जान्थे ।

‘आजभन्दा ३० वर्षभन्दा अगाडि कुरा हो । उहाँ (बुद्धिस्ट) यहाँ आउनुहुन्थ्यो । एउटा घरजस्तै सामान्य कुटी बनाउनुभयो । जसलाई ह्वाइट हाउस भनिन्थ्यो । मन लागेको समयमा यहीँ कुटीमा बसेर उहाँले नेपाल नियाल्नुहुन्थ्यो रे !,’ ब्लु माउन्टेन रिसोर्टका म्यानेजर किशोर चाम्लिङले विगत सुनाए ।

त्यति बेला उपत्यकाबाट डाँडातिर चियाउँदा यहीँ ह्वाइट हाउस मात्रै स्पष्ट रूपमा देखिन्थ्यो र ३ नै उपत्यका देखिने एक्लो डाँडा पनि यहीँ । अहिले यो ह्वाइट हाउसको जस्तापाता मात्र फेरिएको छ, अरू सबै जस्ताको जस्तै छ । ह्वाइट हाउसभित्र पसे हेर्दा स्वर्णिम आनन्द मिल्छ । टेकाको सहारामा बनेको घरभित्र अट्याच बाथरुम, फराकिलो बार्दली, त्यहीँबाट देखिन्छ रङ्गशालाको कुर्सीमा बसेर मैदानमा फुटबल खेल्दै गरेको/हेरेको जस्तो उपत्यका ।

छ्याङ्गै उपत्यका चियाउन न चन्द्रागिरिबाट सम्भव छ न, शिवपुरीबाट । सम्भव छ त चम्पादेवीको यहीँ काखमा लमतन्न सुतेको डाँडाबाट मात्र । यो डाँडामा पुगेर लमतन्न सुतेर, उठेर, हिँडेर जे जसरी मन लाग्छ उपत्यका छ्याङ्गै देखिन्छ ।

‘बानी परेकोले होला हामीलाई त सामान्य लाग्छ । तिहारमा त आकाशको तारामाथि उडेको जस्तो फिल हुन्छ,’ ब्लु माउन्टेन रिसोर्टमै काम गर्ने स्थानीय दिदीले सुनाइन् । साँच्चै राति त्यहाँबाट उभिएर हेर्दा त उपत्यका आकाशको तारा सरी चम्किएको । अब के हेर्नु तारा ?

किंवदन्तीअनुसार टौदहको माटोको चपरी उठाएर मिल्काउँदा थुम्का बनेको हो रे ! यति मात्र होइन त्यति बेला राजामहाराजका घोडालाई घाँस पनि यहीँ डाँडाबाट लग्ने गरिन्थ्यो रे ! यो डाँडाको यस्ता विशेषता त कति हो कति, अवर्णनीय ।

ती बुद्धिस्टले बनाएको घर
अहिले यो डाँडा कवि, गजलकार, निबन्धकार, गीतकारलाई शब्द फुर्याउने डाँडा भनेर पनि चिनिन्छ । कवि विप्लव प्रतीक कविता लेख्न यहीँ डाँडा लम्किने गर्छन् । मेगास्टार, राइज किङ राई भनेर चिनिने गायक राजेश पायल राई गीत गाउन यहीँ डाँडा पुग्छन् । हाइकिङ जानेदेखि मीठा मीठा बात मार्न प्रेमी प्रेमिका यहीँ डाँडाको सहारा लिन पुग्छन् ।

चन्द्रागिरि, शिवपुरी डाँडा पुग्ने तर, काठमाडौँदेखि केही कि.मि. मा रहेको बोसोन डाँडा नपुग्नेले भने सधैँभर पछुताउनुपर्ला ! पुग्नेलाई आहा, क्या दामी बोसन डाँडा !

Facebook Comment

छुटाउनुभयो कि?