तेस्रोलिंगी महिलादेखि डान्सिङ स्टार्ससम्मको समाइराको यात्रा

बिनिता सिवाकोटी २७ बैशाख २०७९, मंगलवार मा प्रकाशित

तेस्रोलिंगी महिलादेखि डान्सिङ स्टार्ससम्मको समाइराको यात्रा

वैशाख २७, काठमाण्डौं । पहिचान मानिसले जन्मँदै पाउँछ। हरेक परिवार सन्तान प्राप्ति मा रमाउँछ । बच्चाको पालन पोषणमा सक्दो पैसा, समय, माया लुटाउँछ र उसको सुन्दर भविष्यको परिकल्पना गर्न सुरु गर्छ। तर त्यही परिवारले आफ्नो बच्चा कसरी हुर्किरहेको छ , उसलाई कुन कुरामा बढी इच्छा छ , कुन कुरामा रुचि छैन त्यो बुझ्न गल्ति गर्छन। र त्यो दलदलको सिकार बनिरहेका हुन्छन् ती अबोध सन्तान जसले आफ्नो पहिचान पाएर पनि अन्योलको जिन्दगी बिताइरहेका हुन्छन्।

सायद यो प्रकृति नै रहस्यमयी छ, शरीर र मनको मेल नगराउने  । शरीर महिलाको, मन पुरुषको अनि ,शरीर पुरुषको, मन महिलाको! पहिचान एउटा तर चाहाना अर्कै ।

यिनै दुबिधाको जीवनबाट २२ वर्षको लामो आत्मयुद्धलाई जितेर बाहिर निस्किएकी एक पात्र हुन समाइरा श्रेष्ठ। शरीर र मन फरक परेपछि लामो समय त आफूले आफूलाई चिन्न मुस्किल पर्ने! आफूलाई चिन्यो, अरूलाई चिनाउन मुस्किल पर्ने ।

समाइरा श्रेष्ठ , उमेर २२ वर्ष, पेसा मोडल , बि ए अध्ययनरत एक तेस्रोलिङी छात्रा हुन । छोराको पहिचान सहित धर्तीमा पाइला टेकेकी समाइरालाई उनको बुवाले ल्याइदिएको हेलिकप्टर , कार , बन्दुक जस्ता खेलौना कहिले खेल्न मन लागेन । बरु उनलाई डल खेलाउन मन लाग्थ्यो , आमाको लिपस्टिक लगाउन मन पर्थ्यो । रङ्गीचङ्गी लुगा लगाउन मन लाग्थ्यो, छनछन बज्ने चुरा र पाउजुले उनलाई सानै देखि आकर्षण गरेको थियो।

बुवा आमा पनि उनको यस्तो हर्कतले छक्क पर्नुहुन्थ्यो तर खास ध्यान दिनुभएन। विद्यालयमा पनि साथीहरूको साथ खास थिएन उनलाई न त शिक्षक शिक्षिका को नै। उनलाई बुझ्न त कसैले चाहेनन् नै बरु उल्टै अनेकौँ नाम उपनाम दिएर उनको हौसला,आत्मसम्मानलाई गिराउने काम गर्दथे।

 उमेर बढ्दै गयो मन महिलाको भएपनी शारीरिक हिसाबले उनी बाध्यताको पुरुषको जिवनयापन गर्दै गइन। उनलाई आफ्नो बारेमा इन्टरनेटमा सर्च गर्न मन लाग्थ्यो तर कसैले थाहा पाउने हो कि भन्ने डरले कहिले हिम्मत गर्न सक्दिन थिइन।

मोडलिङमा इच्छा थियो उनको तर परिवारको साथ थिएन । छोरा मान्छे भएर ग्लामरस फिल्डमा लागेको उनको परिवारले मन पराएको थिएन।

पहिचान खुलाएको दिन

समय बित्दै जाँदा उनले आफू र अन्य मानिसबिचको भिन्नता थाहा पाउँदै थिइन्।तर परिवार लाई कसरी भन्ने, त्यसको उत्तर पाउन सकेकी थिइनन्। आज भन्छु , भोलि भन्छु ,भरे भन्छु भन्दै कति दिन कति रात कति महिना बिते उनका। तर भनिन्छ नि हिम्मत गरे के नसकिने चिज छ र ? त्यस दिन उनले आफूलाई जितिन, आफ्नो डर लाई जितिन , आफ्नो मनलाई जितिन र समाजलाई जित्ने अठोट गरिन।

आफ्नो मन र पहिचान बिचको २० औँ लामो वसन्त पार गरेपछि एक दिन  हिम्मत बटुलेर परिवारको अघि आफूलाई छरपस्ट पारिदिइन। आफू छोरा देखिए पनी मन छोरीको भएको र छोरीकै जीवन जिउने आफ्नो निर्णय सुनाइन।

त्यस दिन भूकम्प गयो उनको घरमा। त्यस दिनको भूकम्पले घरको कुनै क्षति भएको थिएन , तर धेरैको मन टुटेको थियो , बुवाको बुढेसकालको सहारा छुटेको थियो ,आमाको बुहारी भित्र्याउने सपना मेटिएको थियो तर जोडिएकी थिइन् समाइरा। २० औँ वर्ष हरदिन विक्षिप्त बनेको उनको मन त्यस दिन ढुक्क भएको थियो।  आफूलाई परिचित गराएको मा गर्व महसुस गर्दै थिइन् उनी।

भविष्यको सहारा , बुढेसकालको आशाले अचानक आफू तेस्रोलिंगी भएको कुरा सुनाउँदा छाङाबाट खसे झैँ भएको उनका बुवाले सुनाए। “सुरुमा त धेरै पिर लाग्यो , समाजले के भन्ला ? भनेर चिन्तित भयौँ पछि छोरालाई बुझ्न हामीले नै गल्ती गरेको महसुस गर्‍यौ। त्यसपछि अब छोरालाई उसको जिन्दगी जिउनबाट नरोक्ने निर्णय गर्‍यौ। मलाइ ब्लु डायमन्ड सोसाइटी को बारेमा थाहा थियो त्यसैले उसलाइ त्यही लिएर गए, समाइराका बुवाले भन्नुभयो। “

परिवारबाट नसोचेको साथ पाउँदा समाइराको खुसीको सीमा रहेन। पहिलै यो हिम्मत किन मैले गरिन भनेर उनी आफै सङ रिसाइन । उनको सपनाले उडान भरेको त्यो दिन उनको जीवनकै ठुलो र अविस्मरणीय दिन हो। उनी समाइरा हुनु अघिको नामलाई सम्झिन चाहन्नन , त्यो नामको मान्छे नै छैन अब छे त केवल समाइरा ! नाम त् परिवर्तन भैसक्यो समाइराको केहि हदसम्म शारीरिक बनावटमा पनि परिवर्तन आउंदैछ।  आफुमा परिवर्तन ल्याउन हाल उनि बिभिन्न हार्मोन थेरापीहरु गर्दै आएकी छिन।

 ब्लु डायमन्डले बढाएको हौसला

ब्लु डायमन्डमा जोइन भएपछि उनले आफू मात्र एक्लो तेस्रोलिङ्गी नभएको र धेरै जना आफूलाई चिन्न र आफूलाई समाजमा चिनाउन सङ्घर्ष गरिरहेका उदाहरण देखेर झन् उनको हौसला बढेर गयो। त्यसपछि आफ्नो पहिचान नलुकाउने र दुनियाँको अघि तेस्रोलिङ्गी महिला हु भनेर चिनिने उनले अठोट गरिन।

पहिले अस्तित्व लुकाउन अनेक तरिका अपनाउने उनी अब आफ्नो अस्तित्व लाई दुनियाँ सामु चिनाउन लागिपरेकी छन्। मोडल बन्ने उनको लक्ष्य पुरानै हो तर ट्रान्सजेन्डर भएकै कारण धेरै अवसरहरू गुमाएको तितो अनुभव संगालेकी छन् समाइराले। र्याम्प सो बाट  सुरुमा अफर आउने , अनि ट्रान्सजेन्डर हु भनेर परिचय खोलाइसक्दा वास्ता नगर्ने , रिजेक्ट गर्ने खालका धेरै बाहनाहरु सुनेको छु मैले उनी भन्छिन्।  तर ठिकै छ यिनै सङ्घर्ष का दिनले ,यिनै रिजेक्सन ले नै त हो मलाई थप हिम्मत दिएको।  त्यति बेला नराम्रो लाग्थ्यो अहिले सङ्घर्ष पछिको केही सफलतामा पनि धेरै नै आनन्द लाग्छ।

राजनीतिबाट लैङ्गिक विभेदको अन्त्य

कम उमेर तर धेरै तिता अनुभवले नै उनलाई सानो उमेरमा परिपक्व बनाइदिएको छ। उनी अब आफ्नो लागि मात्र होइन आफूजस्ता हजारौँ तेस्रो लिङ्गी व्यक्तिको हक अधिकार , समानता , इज्जत प्रतिष्ठा , अवसरका लागि लड्ने योजनाका साथ विवेकशील साझा पार्टीमा आबद्ध भएकी छन्। उनी अहिले पार्टीको केन्द्रीय सदस्य पनि हुन।उनी अल्पसङ्ख्यकले पनि उत्तिकै कार्य गर्न सक्छन् , उनीहरूको क्षमता माथि प्रश्न उठाउनु भन्दा अघि एक पटक अवसर दिएर हेर्नू पर्ने उनको माग छ। अब पनि नबद्लिएको समाज कहिले बद्लिने र हामीले नै बदल्न तर्फ नलागे को लाग्ने ? हो यस्तै प्रश्नले गर्दा उनी राजनीति ले पनि परिवर्तन मा ठुलो भूमिका खेल्ने भन्दै होमिएकी छन्।

 डान्सिङ स्टार्सको यात्रा

आफूलाई चिन्नु एकातिर , चिनाउनु अर्को तिर र म समलिङ्गी हु भन्ने पहिचान लिएर दुनियाँको अघि आउनु त्यति सहज छैन जति कल्पना गर्न सकिन्छ। तर समाइराको हिम्मतले समाजमा उनको परिचय मात्र गराएन ,डान्सिङ रियालिटी सो को प्रतियोगी मै परिणत गरायो। अवसर र चुनौतीको खुड्किला पार गर्ने क्रममा यस कार्यक्रमले समाइरालाइ अर्कै लेभलमा पुर्‍याइदिएको छ। सो जित्छु जित्दिन थाहा छैन तर मैले ती हजारौं व्यक्तिको आत्मविश्वास जितेको छु , उनीहरूको समाज र परिवार प्रतिको डरलाई जितेको छु , त्यो डरलाई जितेको छु जसले म को हु भनेर परिचय दिन बाट रोकेको थियो” उनले भनिन। अहिले सो को टप ९ मा पर्न सफल उनले दर्शकको मन पनि जितिरहेकी छिन।हरेक हप्ताको नयाँ प्रस्तुति सँगै उनको हौसलामा निखार आएको छ, उनको आत्मविश्वास खारिएको छ। हिजो डरले जोकोही सङ बोल्न हिचकिचाउने उनी आज साथी बनाउन सहज मान्न थालेकी छिन। उनको प्रेरणाको स्रोत उनी आफै नै बनेकी छिन। आफ्नो लागि आफै लड्नुपर्छ भन्ने सोचका साथ आफै लडेको उनी सुनाउँछिन्।

यो कार्यक्रम जित्नुभयो भने ?

उनी लामो  हाँसो हाँस्दै भन्छिन्, जितेछु भने आफ्नो नामको प्रयोग गरेर अरूलाई आफ्नो नाम भन्न बाट हिचकिचाउने अवस्थाबाट मुक्त गर्न अग्रसर बन्नेछु। तेस्रो लिङ्गीलाई मानिसले हेर्ने नजर लाई बदल्ने छु। हाम्रो नाम यौनजन्य क्रियाकलापमा जोडिन्छ र सबैले हामीलाई नराम्रो दृष्टिकोणले हेर्छन् । हो, म त्यही दृष्टिकोणलाई परिवर्तन गर्न चाहन्छु। हिजो अल्पसङ्ख्यकहरू त्यस व्यवसायमा लाग्नुमा यस समाज प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले संलग्न छ। उनीहरूको परिवार नै धेरै हद सम्म दोषी छ। परिवारले स्वीकार नगर्ने , समाजले छि – छि, दूर दूर गर्ने , सरकारले नागरिकता बनाउन समेत सहयोग नगर्ने , सीप नसिकाउने , क्षमता वृद्धिका लागि कुनै अवसर नदिने , कुनै कार्यालयले काम नदिने लगायतका समस्याले उनीहरू यो पेसामा लाग्नुपरेको हो। तर यो समाजले आफ्नो गल्ती देख्दैन खाली हाम्रो नराम्रो पक्ष मात्र देख्छ, उनी भन्छिन्।

भविष्यको योजना

अहिले म ब्याचलर पढ्दै छु। मास्टर्स पढ्न एकचोटी विदेश जान मन छ। विदेशमा पनि आफ्नो परिचय मै खुलेर जिउन मन छ र अरूलाई पनि जिउन सिकाउने मन छ। पढाई पछि नेपाल आएर उद्यमी बन्ने योजना बनाएको छु। राजनीति मार्फत समानता को हक लिने मन छ। प्रत्येक कार्यालयले समलिङ्गी लाई पनि उत्तिकै सम्मानका साथ काम दिने वातावरण बनाउने ठुलो लक्ष्य छ। सबै भन्दा ठुलो कुरा विद्यालय स्तर देखि नै हामी को हौ , हामीले हाम्रो पहिचान कसरी गर्ने, हामीलाई हेर्ने नजर बदल्ने खालका सामग्री राखेर पाठ्यक्रम मार्फत नै विद्यार्थी हरूलाई ज्ञान दिने , समलिङ्गी विद्यार्थीलाई आफ्नो पहिचान  गर्न सहज हुने वातावरण बनाउने कार्य गर्ने मन छ ।

अन्त्यमा

हामी सबैलाई जित्न सक्छौँ यदि हामीले हाम्रो परिवारको साथ पायौँ भने। आज म जे छु मेरो परिवारको साथ र सहयोगले छु।  उहाँहरूको म प्रतिको विश्वास , समाजको डर हटाउन उहाँहरूले दिनुभएको हौसलाले नै मैले आफूलाई जित्ने अवसर पाएको हुँ। त्यसैले आफ्नो सन्तानको साथ दिनुस् , उनीहरूलाई कोठामा कैद हुने अवस्था नबनाइदिनुस् , तपाइले  नै आफ्नो सन्तान को भविष्य को बारेमा नसोचे उनीहरू डिप्रेसन को सिकार बन्न सक्छन् , आत्महत्याको बाटो रोज्न सक्छन् त्यसैले सबैलाई आफ्नो सन्तानको साथ दिन आग्रह गर्दछु।

Facebook Comment

छुटाउनुभयो कि?