कटन क्यान्डिको नाममा बाल श्रम

बिनिता सिवाकोटी १ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

कटन क्यान्डिको नाममा बाल श्रम
जेठ १,काठमाडौं । काठमाडौँका पार्क , हरेक गल्ली , मठ मन्दिरमा क्यान्डी कटन सहित सयौबालबालिका भेटिन्छन। एक्लै होस वा साथी सँग उनीहरू क्यान्डि बेचाउन कुनै कसर बाँकि राख्दैनन्। झन् जोडी देखे भने त नकिनिन्जेल सम्म दिक्क नै लगाउँछन् र किन्न बाध्य पार्दछन।
उनीहरू कहिले जाडोमा लुगलुग कामिरहेका हुन्छन् कहिले चर्को गर्मीमा हिँडिरहेका हुन्छन् । उनीहरूको खुट्टामा जुत्ता पनि हुँदैन । न्यानो लुगा पनि लगाएका हुँदैनन् । कहिले भीडमा त कहिले पार्कहरूमा टोलाएर ग्राहक खोजी बसिरहेका हुन्छन् ।
आज हामी कुरा गर्दै छौँ  क्यान्डीवाला भाइको । देख्दा १०/१२ वर्षको जस्तो देखिने एक बालक कमलपोखरी मा प्राय दिनहुँ जसो भेटिन्छन् । देख्ने जतिलाइ क्यान्डी किन्न आग्रह गरिहाल्छन। केहिले किन्छन केही पन्छिन खोज्छन तर उनी पन्छिन खोज्नेको पछि लाग्न छाड्दैनन्।
 एक दिन क्यान्डी किन्ने बहानामा सोधे मैले ” भाइ स्कुल जाँदैनौ ?”
उत्तरमा हासेर टारिदिए उनले। फेरि मैले सोधे घर कहाँ हो नि ? भरसक दोस्रो प्रश्नको उत्तर बाट पनि भाग्न चाहन्थे उनी ।
उत्तर नदिए त क्यान्डी नै नकिन्ने जवाफ दिएपछि भने उनले नम्र स्वरमा भारत घर भएको बताए।
मैलो चप्पल , मैलो लुगा र मैला परेको टाढै बाट देखिने उनको शरीर। न पढ्न मा इच्छा , न सरसफाइमा ध्यान न त भविष्यको नै चिन्ता। चिन्ता छ त केबल क्यान्डी बेचेर पैसा कमाउने।
सानै उमेर देखि पैसामा बसेको लतले होला उनलाइ पढाइ प्रति कुनै चासो नै थिएन । अनि पढ्नुपर्दैन ? फेरि सोधे मैले ।
उत्तर : पढेर के गर्नु , कमाउने पैसा नै हो। त्यो त म अहिले नै कमाउँछु। उनले कटन क्यान्डी गौशालाको एक साहूबाट लिँदा रहेछन् ।  बिहान खाना खाएर दिनभरि बेच्दै हिँड्ने र व्यापार भए दिउँसो खाजा खाने, नभए नखाने उनले बताए  । बेलुकी फेरि त्यही साहूको घर फर्कन्छन् र त्यहीँ सुत्छन् उनी ।
कति कमाउँछौ नि ?
  महिनाको पाँच  हजार ।
त्यति भन्दा नभन्दै उनी त्यहाँ बाट हिँडे।
निक्कै बेर सोचमा परे। भारत बाट क्यान्डी बेच्न त उनी पक्कै पनि नेपाल सम्मको लामो यात्रा त पक्कै तय गरेर आएका होइनन्। यिनलाइ त्यति टाढाबाट आफ्नो परिवार देखि दूर नेपाल सम्म कसले ल्याएर काममा लगाउँछ होला?
उसो त नेपालमा बालश्रम प्रतिबन्ध छ तर दिनरात क्यान्डिको नाममा खटिएका यी बालकहरुको लागि सरकारले केही गरेको देखिँदैन।
यस विषयमा काठमाडौँ महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यलाई सोध्न मन लाग्यो । मेयर शाक्यले भने ” हाल नेपालमा बाल श्रममा लाग्ने नेपाली बच्चाहरू भन्दा धेरै नै भारत बाट प्रवेश गरेका बच्चाहरू छन् । हामीले कडिकडाउ पनि नगरेको होइन तर जति नियन्त्रण गर्न खोजे पनि यस्ता बच्चाहरू रातारात कहाँ बाट थपिन्छन थपिन्छन।”
नेपाल र भारतको खुल्ला सिमानाका कारण नेपालमा भारतीय माग्नेको सङ्ख्या र बाल श्रममा वृद्धि भएको मेयर शाक्यले बताए।
बाल श्रमको विरुद्धमा कार्य गर्नको लागि सरकार, सामाजिक साझेदारहरू तथा नागरिक समाजको प्रतिबद्धता व्यक्त गर्ने क्रम बढे पनि बाल श्रमिकको सङ्ख्या अझै पनि विकराल रहेको छ।बालबालिकालाई बाल श्रम र त्यसका अरू जोखिमहरू जस्तै भौतिक र मनोसामाजिक क्षति, शिक्षा बाट वञ्चित हुनुपर्ने अवस्था र शोषणबाट जोगाउन कोभिड-१९ पूर्व नै चुनौतीपूर्ण थियो। नयाँ तथ्याङ्कहरूले देखाए अनुसार, बालबालिका सहितका परिवारहरूलाई यो महामारीको सामाजिक-आर्थिकको प्रभावले धेरै असर गरेको छ।
वर्तमान बालश्रमको अवस्थाले हरेक बालबालिकाको अधिकारको उल्लङ्घन भएको दर्साउनुका साथै गरिबी बढाउँछ र आर्थिक वृद्धि एवं समतामूलक विकासलाई सीमित तुल्याइदिन्छ। बाल श्रमसँग सम्बन्धित जोखिम सम्बोधन गर्नको लागि गरिबी तथा बहिष्करणको जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा र मर्यादित कामको अवसर एकताबद्ध रूपमा प्रदान गर्दै आवश्यक कार्यक्रमहरू सञ्चालन गर्नु अहिलेको समयको मुख्य आवश्यकता रहेको  छ।
गत सालको तथ्यांकअनुसार विगत ४ वर्षमा बाल श्रमिकको सङ्ख्यामा विश्वभरि ८४ लाखले वृद्धि भएर कुल १६ करोड पुग्नुका साथै दसौँ लाख अन्य बालबालिका कोभिड-१९ को प्रभावको कारणले बाल श्रमको  जोखिममा रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) र युनिसेफद्वारा जारी पछिल्लो प्रतिवेदनले जनाएको छ।
हाल विश्वभरि रहेका बाल श्रमिकहरू मध्ये ५ देखि ११ वर्ष बिचको उमेर समूहका बाल श्रमिकको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भई उनीहरूले आधा भन्दा बढी हिस्सा लिईसकेको  कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । श्रमिकको स्वास्थ्य, सुरक्षा तथा मनोसामाजिक अवस्थामा असर पार्न सक्ने भनी परिभाषित जोखिमपूर्ण कार्यमा संलग्न ५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको सङ्ख्यामा २०१६ यता ६५ लाखले वृद्धि भई ७ करोड ९० लाख पुगेको छ।
Facebook Comment

छुटाउनुभयो कि?