पर्यटन बजार८ जेष्ठ २०७९, आईतवार मा प्रकाशित
जेठ ८,रारा। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यसमितिको बैठक रारामा सम्पन्न भएको छ ।नाडाले शुक्रबार विहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो ।
कर्णालीको बिकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठक सम्पन्न गर्न पाउदा अत्यन्तै खुशी लागेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले बताए। उनले भने ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको संदेश प्रदान गर्न खोजेको हो । यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रह्यो ।’
कर्णाली सोचेको भन्दा पनि स्वच्छ र सुन्दर रहेको तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको महशुस भएको उनले बताए।
बैंठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कर्णाली अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तर प्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit