पर्यटनमा आसलाग्दो कमब्याक, पर्यटक आगमन ७५% रिकभर

पर्यटन बजार२२ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

पर्यटनमा आसलाग्दो कमब्याक, पर्यटक आगमन ७५% रिकभर

जेठ २२,काठमाडौं। यो वर्षको सुरुआतदेखि नै आशाजनक संकेत देखिएको नेपाली पर्यटन क्षेत्र विस्तारै विस्तारै पुनरुत्थान हुँदै कोभिडअघिकै अवस्थाजनिक पुगेको छ।

सन् २०१९ को अन्त्यबाट कोभिड-१९ महाव्याधि सुरु भएपछि विश्व उड्डयनसँगै पर्यटन क्षेत्र ठप्प भएको थियो। अन्तरराष्ट्रिय पर्यटन गतिहिन भएसँगै त्यसको सोझो असर नेपाली पर्यटन उद्योगमा पनि परेको थियो। त्यसमा पुनरागमन गर्दै अहिले कोभिडअघिकै अवस्थानजिक पुगेको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए।

लामिछाने भन्छन्, ‘पर्यटक आगमनमा चहलपहल उल्लासमय देखिएको छ। कोभिडबाट सबैभन्दा प्रभावित बनेको पर्यटन क्षेत्रमा अरु मुलुकको तुलनामा नेपालले छिट्टै पुनरउत्थानको बाटो समातेको छ।’

उनका अनुसार, सन् २०२२ को मेमा घुम्नका लागि नेपाल आउने विदेशी पर्यटकको संख्या सन् २०१९ मा कोभिडअघिको अवस्थाको ७५ प्रतिशत पुगेको छ।

पर्यटन बोर्डको तथ्यांक अनुसार यो वर्ष मेमा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। २०१९ मा यो संख्या ७२ हजार १५६ थियो।

नेपालको पर्यटन पुनरुत्थानमा तत्कालका लागि दक्षिण एशियाका भारत, बंगलादेश लगायतका मुलुकका नागरिकको आगमन महत्त्वपूर्ण हुने पर्यटन क्षेत्रका सरोकारवालाहरुले बताउँदै आएका छन्। यो अपेक्षाअनुसार नै अहिले पर्यटक बढेको भनाइ पर्यटन व्यवसायीहरुको पनि छ। अझ अरु मुलुकको तुलनामा बङ्गलादेशबाट आउने पर्यटकको २५१ प्रतिशतले वृद्धि भएको लामिछानेले जानकारी दिए।

‘अहिले हाम्रो बढी फोकस पनि बंगलादेश र भारत नै हो। पर्यटन मन्त्रालयको समन्वय अझै राम्रो भएको अवास्थामा यी मुलुकबाट आउने पर्यटक थप बढ्ने देखिएको छ,’ उनी भन्छन्, ‘अहिले नै चिनियाँ बजार खुला भएको भए पर्यटकको आगमन संख्या १५ प्रतिशतले वृद्धि हुने थियो।’

यसबीच बोर्डले पटकपटक गर्दै आएको प्रचारप्रसारकै कारण बंगलादेशबाट आउने पर्यटकको संख्या उल्लेख्य रुपमा वृद्धि भएको बताइएको छ। बोर्डले यसअघि गरेको इस्ट र वेस्ट ट्राभल मार्टका कारण भारतका सिक्किम, दार्जलिङ लगायत स्थानबाट नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको बोर्डले जनाएको छ।

तर गत मेमा चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, चाइजनिज ताइपेइ, म्यानमार, थाइल्याण्ड लगायत एसियाली मुलुकबाट आउने पर्यटकको संख्या भने समीक्षा अवधिमा ८६ प्रतिशतले घटेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार, यो महिना एशियाली सार्क मुलुकबाट करिब ३० हजार ५००, अमेरिकाबाट आठ हजार, युरोपबाट छ हजार आठ सय, ओसियानाबाट १६ सय, र अन्य मुलुकबबाट चार हजार पर्यटक घुम्नकै लागि भनेर नेपाल आएका छन्।

Facebook Comment

छुटाउनुभयो कि?