माउन्टेन एकेडेमीले एउटाको परमिट लिएर अर्कै हिमाल चढाएको आरोप

पर्यटन बजार१० असार २०७९, शुक्रबार मा प्रकाशित

माउन्टेन एकेडेमीले एउटाको परमिट लिएर अर्कै हिमाल चढाएको आरोप

असार १० ,काठमाडौँ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल माउन्टेन एकेडेमीका १६ विद्यार्थीको आरोहण अवैध देखिएको छ। मनाङमा रहेको ६ हजार ३९ मिटर अग्लो चुलु हिमालको अनुमति लिएर चुलु फार इस्ट चढेको र सो हिमाल चढ्न हालसम्म अनुमति नदिएको देखिएको हो।

नेपाल माउन्टेन एकेडेमीका स्नातकोत्तर तहका विद्यार्थीले मङ्गलवार आरोहण गरेर आधार शिविर फर्किएपछि यस हिमाल आरोहण को विरोध सुरु भएको छ। सोही क्रममा नेपाल स्वतन्त्र पर्यटन श्रमिक सङ्घ (नीटोग )ले पर्यटन विभागमा अवैधानिक कार्यको लागि कारबाहीको माग समेत गरेर उजुरी गरेको छ।

यस बारेमा बुझ्दा नेपाल माउन्टेन एकेडेमीका असिस्टेन्ट सूचना अधिकारी टङ्क प्रसाद पौडेलले बिद्यार्थीहरु कुनै कम्पनीको एक्सिपिडिसनमा नगएको र हिमाल बारे रिसर्च गर्न गएको उल्लेख गर्नुभयो। ” हामीले विद्यार्थीको ६ हजार माथिको हिमाल अभ्यास गराउन ,क्याम्पका बारेमा जानकारी गराउन , हुनसक्ने खतराका बारेमा सिकाउन र रेस्क्यु विधि सिकाउन लगेका हौँ, त्यसैले सिक्ने क्रममा केही माथि पुग्न सकेको हुनसक्छ टोली ” उनले भने।

अवैध हिमाल चढेर रेकर्ड कसरि भयो भन्ने हाम्रो प्रश्नमा उनले भने , एकेडेमीको काम नै नयाँ हिमालको बारेमा अध्ययन गर्ने , नामकरण गर्ने ,बाटो खोल्ने हो सोहीअनुरूप विद्यार्थीलाई आरोहण गराइएको हो, त्यसैले अवैधानिक भन्न मिल्दैन । साथै टिम लिडरले कहाँ सम्म बिद्यार्थीलाइ लगे , के के भयो सबै कुरा टिम फर्किसकेपछि नै जानकारी हुने र सोही अनुसार रिपोर्ट बुझाइने समेत उनले जनाएका छन्।

सोही विषयमा हामीले नेपाल पर्वतारोहण सङ्घ सँग पनि बुझ्न खोज्दा आफूहरूले परमिट फार इस्ट को नदिएको र यसबारे छलफल भइरहेको जानकारी प्राप्त भयो।

सरकारी क्याम्पस, अन्तर्राष्ट्रिय गाइडहरू र अन्तर्राष्ट्रिय गाइडहरूको कम्पनीले आरोहण खुल्ला नगरेको अवैध हिमाल चढ्दा र एउटा हिमाल अनुमति लिएर अर्को हिमाल चढ्दा पनि रेकर्ड हुने लगायतका प्रश्न जताततै सुन्न थालिएको समेत छ। बिद्यार्थीलाइ नै एउटा परमिट लिएर अर्को हिमाल आरोहण गर्न सिकाइए भोलि उसले के सिक्ला ?

मास्टर्स अफ एडभेञ्चर टुरिजम स्टडिज (म्याट्स) का पहिलो ब्याचका विद्यार्थीहरू, प्रशिक्षक, एकेडेमिक सुपरभाइजरसहित २१ जनाले चुलु हिमाल आरोहण गरेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?