पर्यटन बजार१३ असार २०७९, सोमबार मा प्रकाशित
असार १३,काठमाडौं। मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले पर्यटनमन्त्री प्रेमबहादुर आलेले डोटीस्थित विभिन्न पर्यटकीय पुर्वाधार निर्माणको शिलान्यास गरेका छन्।
आइतबार मन्त्री आलेले डोटीको जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेको सचिवालयले जनाएको छ।
यसैगरी ९ करोड रुपैयाँको लागतमा रुपसकाँडा र बाँझिलेकमा होमस्टे, छहरा झरना स्थलमा शिव भगवानको मुर्ति, रुपसकाँडा–बाँझिलेक जोड्ने सडक निर्माण, छहरा झरना जाने सडक स्तरोन्नति, सेल्फी प्वाइन्ट लगायतका पुर्वाधार एकीकृत रुपमा निर्माण गरिने जनाइएको छ।
मन्त्री आलेले स्थानीय जनताको सुझाव अनुसार बजेट व्यवस्था गर्ने प्रतिवद्धता जनाए। धार्मिक तथा पर्यटकीय क्षेत्र छहरा झरना हेर्न कैलाली, कञ्चनपुर, सहित पुर्वी नेपालका जिल्ला र छिमेकी मूलुक भारतबाट समेत पर्यटक आउने गरेका स्थानीय शंकर रावलले जानकारी दिए।
मन्त्री आलेको पहलमा डोटीको बडीकेदार, शैलेश्वरी लगायत खप्तड–मानसरोबर सम्मको विकासका लागि र मुलुकको थुप्रै महत्वपूर्ण पर्यटकीय क्षेत्रमा ठुलो योगदान रहेको पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी डोटीका अध्यक्ष दीर्घराज बोगटी, जोरायल गाउँपालिका–२ का वडा अध्यक्ष वीरबहादुर दर्लामी, विभिन्न सरोकारवालाहरु, पत्रकार लगायतको सहभागिता रहेको जनाइएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit