एलओडी संसारकै ५२औं उत्कृष्ट नाइट क्लबमा पर्न सफल

पर्यटन बजार१६ असार २०७९, बिहीबार मा प्रकाशित

एलओडी संसारकै ५२औं उत्कृष्ट नाइट क्लबमा पर्न सफल

असार १६,काठमाडौं। राजधानीको ठमेलमा रहेको नेपालकै ठूलो नाइट क्लब ‘लर्ड अफ ड्रिङ्क्स’ (एलओडी) संसारकै ५२औं उत्कृष्ट नाइट क्लबमा पर्न सफल भएको छ।

बेलायतको मासिक पत्रिका डिजे म्यागले गरेको भोटिङका आधारमा एलओडीले कुल पाँच सयभन्दा बढी प्रतिस्पर्धीमध्ये ५२औं स्थान हासिल गर्न सफल भएको एलओडीका सहसंचालक तथा सीईओ रवीन श्रेष्ठले बताए।

स्थापना भएको तीन वर्षमै एलओडी यो उपलब्धी हासिल गर्न सफल भएको हो। यो क्लब सन् २०१९ फेब्रुअरीबाट संचालनमा आएको थियो। राजधानी शहरलाई राती समेत जिवन्त बताउनका लागि नाइट लाइफ कल्चर विस्तार गर्ने उद्देश्यले क्लब संचालनमा ल्याइएको श्रेष्ठको भनाइ छ।

पहिलो अन्तर्राष्ट्रिय डिजे एन्टोबाट प्रस्तुति सुरु गरिएको क्लबले चर्चित नेपाली र अन्तर्राष्ट्रिय कलाकारमार्फत ग्राहकलाई मनोरञ्जन गराउँदै आएको छ। सहसंचालक श्रेष्ठका अनुसार क्लबले ९० प्रतिशत नेपाली कलाकार र हालसम्म एक सयभन्दा बढी अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिलाई यस क्रममा समेटिसकेको छ।

सन् २०२० मा कोभिडका कारण संचालन चुनौति झेल्दै आएको नाइट क्लब संक्रमण नियन्त्रणमा आएसँगै पछिल्लो समय पुरानै लयमा फर्किसकेको उनले जानकारी दिए।

‘यो प्रतिस्पर्धाबारे हामीलाई त्यति आइडिया थिएन। तीन वर्षको दौरानमा डिजे म्यागसँग सम्पर्क भयो। हामीलाई यस्तो प्रतिस्पर्धाबारे पहिले नै जानकारी हुन्थ्‍यो भने टप टेनमा नै आउथ्यौं कि जस्तो लाग्छ। निकट भविष्यमा हामी टप टेनमा आउने छौं,’ बुधबार आयोजित कार्यक्रममा श्रेष्ठले भने।

नेपाल भ्रमणमा आउँदा एलओडीमा अनुभव लिएका अन्तर्राष्ट्रिय पर्यटक र एक सयभन्दा बढी अन्तर्राष्ट्रिय कलाकारहरुको प्रतिक्रियाका आधारमा यो उपाधी पाउन सफल भएको उनले बताए। उनका अनुसार यो प्रतिस्पर्धाका लागि प्रस्ताव डिजे म्यागबाटै आएको थियो।

उपाधि भोटिङका आधारमा भएको थियो। तर भोटिङ ओरिजिनल र फेक के हो भन्ने डीजे म्यागले नै अनुसन्धान गरेर छनोट गरिएको उनको भनाइ छ।

क्लबले आगामी दिनमा आफ्नो सेवा थप नौलो र आकर्षक बनाउँदै लाने उनले बताए। क्लबले निकट भविष्यमा बिर्तामोड, पोखरा, बुटवल लगायतमा फ्रेन्चाइज ल्याउने योजना बनाएको उनले जानकारी दिए।

Facebook Comment

छुटाउनुभयो कि?