चुनावी भोज संस्कृति कि विकृति ?

पर्यटन बजार२९ श्रावण २०७९, आईतवार मा प्रकाशित

चुनावी भोज संस्कृति कि विकृति ?

साउन२९,काठमाडौं ।निमन्त्रणा भएपछि त जानै परिगो । फेरि ठुलो मान्छे भएछ भन्ने ठान्लान् । गाह्रो पो छ त !

टानको निर्वाचनको सम्बन्धमा अध्यक्ष बोधराज भण्डारी र वरिष्ठ उपाध्यक्षका स्वतन्त्र उम्मेदवार गणेश न्यौपानेद्वारा आयोजित भेटघाट कार्यक्रममा सरिक भइयो । मान्छेहरू भेट्नु र रमाइलो जो हेर्नु थियो ।

कार्यक्रम १ बजेदेखि ४ बजेसम्मका लागि राखिएको थियो । करिब दुई बजेतिर पुगेको थिएँ कार्यक्रम स्थल । व्यवसायीले राखेका जिज्ञासालाई मेटाउदै रहेछन् बोधराज भण्डारी । समसामयिक व्यावसायिक प्रसङ्ग पनि उठे । फेक रेस्क्युका कुरा पनि उठे । छलफल हुन बाँकी विषय केही थिएन भन्दा पनि हुन्छ ।

“तपाइँको उम्मेदवारी केका लागि <” भन्ने प्रश्नका सवालमा उनको जवाफ थियो-

“मन्त्री, प्रधानमन्त्री र शीर्षस्थ नेतासित सीधा सम्पर्क भएका साथीहरूलाई पनि चुनेर पठाएकै हो । उनीहरूबाट माखो नमरेपछि आफैँले कम्मर कस्न लागेको छु ।”

हुन पनि हो । अध्यक्ष भएर टानको भित्तामा फोटो झुन्ड्याउनु बाहेकको उपलब्धी के नै हासिल गरे र उनीहरूले । के टानको अध्यक्ष हुनुको उपादेयता यतिमा हो त ? प्रश्न सल्बलाउँछ मेरो मनमा ।

उनको अभिव्यक्ति शैलीलाई विज्ञतालाई मान्नै पर्छ । खाटी व्यवसायी हुन् । सबै कुराको जानकारी छ  उनमा ।

भेटघाटका लागि व्यवसायीहरू आउनेजाने गर्दै थिए । एक घण्टा जति बसेर उनलाई सुनेपछि  म पनि बाहिरिएँ । सुन्नु थियो सुनिहालेँ । मजस्तो भुइँमान्छे त्यहाँ हुनु  र नहुनुको अर्थ पनि खासै थिएन ।

यो महासङग्राममा उनीहरूका प्रतिद्वन्दी गठबन्धन सहितको दलका भातृसंगठनका सहारा लिएर उत्रिरहेका छन् । उनीहरू भने स्वतन्त्र ढङ्गले मैदामा उत्रिएका छन् । यो पाराले कसरी चुनाव जितुँला भन्ठानेका होलान् कुन्नि ! एकालाप गर्छु म ।

यथार्थमा त उनीहरूको स्वतन्त्र उम्मेदवारी आफैँमा एउटा साहसिक कदम हो । मतदाता व्यवसायीको मन जित्लान्/नजित्लान्, त्यो त तपसिलको कुरा । तर यो निर्वाचनमा उनीहरूको उम्मेदवारी टानमा विद्यमान दलीय दासताप्रतिको भद्र निन्दा नै हो ।  अर्को अर्थमा स्वतन्त्र मतदाता व्यवसायीका लागि ‘राइट अफ रिजेक्ट’ को अवसर पनि हो ।

आर्थिक र समाजिक रूपमा टान आज जुन धरातलमा छ, यस्तो खालको अवस्था टानले विगतमा पनि पार गरेको यथार्थ जगजाहेर छ । पूर्वअध्यक्ष जेबीसिंका पालामा टान पटकपटक आर्थिक र सामाजिक सङ्कटमा परेको थियो । एसिएन टे्रकिङका आङछिरिङ शेर्पा र विक्रम पाँडेकाजीजस्ता व्यवसायीसित सहयोग लिएर जेबीसिंले टानका समस्याहरू सुल्झाउने गरेको इतिहास छिपेको छैन । आङछिरिङ शेर्पा र विक्रम पाँडेकाजी पनि आफ्ना छाता संगठनको गाह्रोसाँघुरोमा सहयोग पुर्‍याउनु कर्तव्य नै ठान्थे । यही कुरा स्वयम् जेबीससिंकै मुखारबिन्दबाट सुन्ने हो भने अहिलेका व्यवसायीलाई एकादेशको कथाझैँ लाग्न सक्छ । भवन बनाउँदा र त्यसको ऋण छिन्दासम्म पनि यस्ता थुप्रै सहयोगी मनहरूको योगदान रहेको संस्था हो टान ।

यति गौरवपूणर् इतिहास हुँदा हुँदै पनि आजको दिनमा आइपुग्दा टानको सदस्य १,८०० बाट १,२४८ मा सीमित भएको छ । अझ चुनावमा भोटका लागि रामप्रसाद सापकोटा र नीलहरि बाँस्तोला दुवै प्यानलले रातरात नवीकरण नगरिदएको भए त सङ्ख्या यति पनि हुने थिएन । त्यसो त टानका कतिपय सदस्य यस्तै दिनको प्रतीक्षा रहन्छन् । चुनाव आइहाल्छ, जसलाई भोट चाहियो उसैले नवीकरण गरिदिइहाल्छ नि भन्ने मासिकता छ उनीहरूमा । बदलामा एकभोट दिए पुगिगो । कुनै बेला त तत्कालीन अध्यक्षले आफ्नो गठबन्धनका लागि भोट बढाउन उधारो नवीकरण गराइदिएको उदाहरण पनि छ । अचम्मको कुरा के भने भोट त हाले, जित्नेले जिते तर रकम बेरुजु रह्यो । संस्थाको चुनावमा फोहोरी खेलको दृष्टान्त खोजु परे टान साक्ष्य छ । भोटका लागि टानका सदस्यहरू आफँैले आफ्नो सदस्यता नवीकरण नगर्नु उनीहरूको गैरजिम्मेवारीपन मात्र होइन, टानप्रतिको वितृष्णा पनि हो ।

मैले देखेसम्म उति बेला पदका लागि तँछाड-मछाड हुन्नथ्यो । त्यसो त आर्थिक संकट झेलिरहेको संस्थाको नेतृत्व गर्न को तयार भइदियोस् ! अर्को कुरा टानको अध्यक्ष हुँदा प्रतिष्ठाको विषय पनि खासै हुन्थेन । त्यसैले पनि चार पटकसम्म नेतृत्व लिने सौभाग्य पाए जेबीसिंले सायद ।

कुनै कालखण्डमा टानले हाँसिल गरेको व्यवसायीक, आर्थिक र सामाजिक उचाइको कारणले आजको दिनमा पनि टानको अध्यक्ष हुनुले खास अर्थ राख्छ । यसले एक त एउटा व्यक्तिको प्रतिष्ठालाई उचा राख्छ । अर्को त उसको प्रोफाइललाई पनि बढाउँछ । असफलताको रसातलमा पुगेको वर्तमान पृष्टभूमिमा पनि टानमा अध्यक्षका लागि हुने  हानाथापले त्यसैको प्रतिविम्बन गर्छ । ०७९ साउन २० गते हुनगइरहेको विनर्वाचनमा दुवै पक्षका भावी कार्ययोजना एउटै छन् र भनिरहेका छन् ‘बेटर टान, ‘बेटर टान’। उनीहरूको यो सुगारटाइ मतदातालाई भ्रममा पर्ने रणनीतिक चातुर्य मात्र हो । ‘बेटर टान’का लागि जो कोहीले अरुको सदस्यता नवीकरण गरेर चुनावमा भाग लिँदैन । ‘बेटर टान’ बनाउने दायित्व समस्त व्यवसायीको हो । आजको दिनमा हामीले चाहेको ‘बेटर’ होइन ‘बेस्ट’ हो ।
बेलुकी पाँच बजेको लागि निम्तो थियो नीलहरि बाँस्तोला र रामप्रसाद सापकोटा दुवैको टिमको । कार्यक्रम उम्मेदवार परिचय गराउने त्यसपछि कक्टेल डिनर । दुवैको समय एउटै । कहाँ जानु, कहाँ नजानु । एउटाको कार्यक्रम सासा ब्याङ्केटमा, अर्कोको मल्टी पार्टी भेनु । दुबै नयाँबजार । सोचेँ- पहिला सासामा जाऊँ, त्यसपछि मल्टी पार्टी भेनु भएर त्यतैबाट घरतिर लाग्नु पर्ला ।

सवा पाँच बजेतिर पुगियो सासा ब्याङ्केट । पानी परकोले कार्यक्रममा सहभागी हुनेहरू आइपुगिसकेका थिएनन् । अरु त के कुरा रामप्रसाद सापकोटा प्यानलका उम्मेदवारहरू नै सबै थिएनन् । सापकोटा प्यानलका चुनाव परिचालन कमिटीका मित्रहरू चेवन देवकोटा, नवराज दाहाल र राजेन्द्र सापकोटा कार्यक्रमका प्रारूप तयार गर्दै थिए । हिजो मात्र पर्टीले कारवाही गर्दा पनि उज्यालै देखिन्थ्यो राजेन्द्र सापकोटाको मुहार । हलमा मान्छेहरूको आगमन हुँदै गर्दा खुसी देखिन्थे ती मित्रहरू । मान्छेहरूको उपस्थिति देख्दा उनीहरूले नै जित्छन् कि भनेजस्तो भान हुन्थ्यो । सवा छ बजेसम्म कार्यक्रम सञ्चालन गर्ने जीम्मेवारी पाएका मित्र नआइपुगेकाले विलम्ब भइरहेको थियो । त्यसपछि उनीहरूको पाम्प्लेट लिएर लागेँ म मल्टी पार्टी भेनुतिर ।

यताका गठबन्धन कति छिटो ! कार्यक्रम सुरु भइसकेको रहेछ । यता पनि मान्छेहरूको भिड उस्तै । टेक्ने ठाउँ थिएन । घुस्दैघुस्दै भित्र छिरेँ । त्यो भिड देख्दा यस्तो प्रतीत हुन्न्थ्यो- विजयको माला त नीलहरि टिमले पहिरिने भो क्यारे !

सारगर्वित मन्तव्य दिँदै थिए, राकेस धमला । उनी यताका चुनाव परिचालन कमिटीको संयोजक । अरुको भाषण त सुनिरहेकै हो । इन्डस्ट्रीमा टावरिङ पर्सनालिटी भएका दुई व्यवसायी पर्यटन राज्यमन्त्रीसम्म भएकी याङ्किला शेर्पा र विक्रम पाँडेकाजी शुभकामना मन्तब्य दिए । विशेष थियो, उनीहरूको भनाइ । नीलहरि टिमको भावी कार्ययोजना मन पराइन्, पूर्व राज्यमन्त्रीले । तर टिममा महिलाको संख्या एकजना मात्र हुदाँ भने चित्त बुझेन उनलाई । पचास प्रतिशत महिला सहभागिताको कुरा उठिरहेको बेला एकजना मात्र हुनु आmैँमा हाँस्यासपद कुरा हो । फेरि उनलाई चित्त नबुझ्नु आफैँ महिला हुनुको कारणले पनि होला । महिलामा पनि टान हाँक्न सक्ने क्षमता छ भन्ने उनको आशय थियो । कुरा सतप्रतिशत जायज । तेत्तिस प्रतिशतको हिशाबले पनि एउटा प्यानलमा कम्तीमा छ जना महिलाको उम्मेदवारी हुनुपथ्र्यो । त्यसो त सापकोटा प्यानलमा महिलाको सङ्ख्या तीन मात्र छ । महिलाको खडेरी त उता पनि त्यत्तिकै रहेछ ।

टान व्यवसायीको व्यक्तित्व विकास गर्ने प्लेटफर्म हुनुपर्छ भन्ने बिचार व्यक्त गरे- विक्रम पाँडेकाजीले । टानबाट अघि बढेकाहरू आजसम्म मन्त्री मात्र भएका छन्, प्रधानमन्त्री पनि हुनुपर्छ भन्ने धारणा थियो उनको । मज्जाले ताली बज्यो हलमा । राम्रो हो, उनको धारणा । पर्यटनमा राजनीति गर्ने त छन् नै, कथित वकिल पनि छन् । पर्यटनका मान्छेहरू न्यायलयको उच्च तहमा पनि पुगे त राम्रै होला भन्ठान्छु म ।

अपवादको रूपमा केही व्यक्तिलाई छाडेर हेर्ने हो भने टानको प्लेटफर्मले कसैको व्यक्तित्वको विकास भएजस्तो लाग्दैन । याङ्किला शेर्पाको व्यक्तित्व टानको कारणले बनको होइन । दीपक महत, रमेश धमला, ज्योति अधिकारी, चन्द्र रिजालको आजको व्यक्तित्व टानको कारणले भएको होइन । पर्यटनमा प्रवेश गर्नु अघिदेखिकै हो ।  टानमा हारेर पनि नीमा लामा प्रदेश पर्यटन मन्त्री बनेका छन् अहिले । बरु पर्यटनमा भएका दलकै भातृसंगठनमा लागेका कारण टानसम्म पुग्ने हैसियत बनाए धेरैले । स्टेजमा दुई मिनेट उभिएर बोल्दा थरथरी खुट्टा काँप्नेहरू आजकल स्टेजमा उभिनसक्ने भएका छन् । दलको भातृसंगठनमा लाग्नुको उपादेयता यतिमात्र होला सायद । बरु यसले टानको नेतृत्वमा लागि सक्षम व्यवसायीलाई भने ओझेलमा पारेको छ । नत्र बोधराज भण्डारीको उम्मेदवारी सायदै आउथ्यो ।

शुभकामना मन्तव्य दिँदै गर्दा मतदाताले भोट क्रस गरेर टिमलाई लङ्गडो पार्ने गरेको भनेर सजिलै आरोप लगाए, टान अध्यक्ष खुम सुवेदीले । टानको चुनावमा भोट क्रस हुनु नौलो कुरा होइन । उनी आफैँ धादिङका हुन् । धादिङका धेरै व्यवसायीहरूका नातासम्बन्ध मामाचेला-फुपूचेलाका छन् । शेर्पाहरूको भोट प्रायः शेर्पालाई मात्र जान्छ । एकातिर मगर र अर्कोतिर गुरुङ फेरिअकोतिर तामाङ रिमठिमको पनि आ-आफ्नै संगठन् छन् र सेक्टर-सेक्टरका मतदाताको देखाउने र चपाउने दाँत फरकफरक भएपछि कसैले सोचेको जस्तो कहाँ हुन्छ र । खुम सुवेदीको कुरा बेठिक होइन तर यसो भन्दै गर्दा उनलाई एउटा कुरा हेक्का भएन- यदि मत क्रस नभएको भए अघिल्लो पटक उनले चुनाव कसरी जित्थे होलान् ? टानको अहिलेको १,२४८ मतदातामध्ये आधाभन्दा बढी त स्वतन्त्र नै छन् । भोलि हुनगइरहेको चुनावमा भोट क्रस नहुने हो भने न बाँस्तोलाले जित्छन् न त सापकोटाले नै । दुवै टिम गठबन्धनबाट बनेका टिम हुन् । यस अर्थमा दुवै टिम लङ्गडो टिम नै हुन् । अर्को कुरा आफ्नै पार्टीको साथी सँगै जितेर जाँदा पनि मनमुटाव भएर काम गर्न नसकेको उनी स्वयम् साक्षी हुन् । फेरि कुन सग्लो टिमको कुरा गरेका हुन् भन्ने कुरा बुझिएन । जसले जिते पनि जसले जे भने पनि दुई वर्षीय कार्यकाल यिनका लागि फलामकै चिउरा हो ।

कार्यक्रम नसकिँदै मध्यपान सुरु भएथ्यो । कस्ले पो सुनिदियोस् त्यो जाबो भाषण । सासा ब्याङ्केटमा भएकाहरू मल्टी पार्टी भेनुमा ओहिरिए आइपुगे । मल्टी पार्टी भेनुमा भएकाहरू सासा ब्याङ्केटतिर लाग्न थाले । व्यवसायी साथीहरूले भरपुर मनोरञ्जन गरे । खाएर गरे । पिएर गरे । प्रसंशा गरेर गरे । विरोध गरेर गरे । कतिपय मान्छेहरूको जिब्रो लर्बरिइसकेको थियो । कतिले खुट्टा ठाउँमा टेक्न सकिरहेका थिएनन् । हेर्नलायक थियो दृश्य । दृश्य हेर्दै गर्दा लागिरहेको थियो- सासा ब्याङ्केटमा पनि योभन्दा कम त के होला र !

अध्यक्षका उम्मेदवार नीलहरि बाँस्तोलालाई अग्रिम बधाई एवम् शुभकामना दिएँ  । न्यानो सम्बन्ध छ उनको र मेरो ।

मल्टी पार्टी भेनुबाट बाहिरिँदा साढे नौ बजेको थियो । मोटरसाइकल पार्किङमा जाँदै गर्दा कोही पर्खालमा पिशाब गर्दै थिए । कोही वान्ता गर्दै थिए । दृश्यले लाज पनि लज्जाएको प्रतीत हुन्थ्यो । त्यसो त टानको चुनावी इतिहासमा यो पहिलो घटना थिएन ।

दिग्भ्रमित भएथेँ म । सोधेँ आफैँलाई- चुनावी भोज संस्कृति कि विकृति < बाटोभरि सोच्दै थिएँ- आज दुवै प्यानलले गरेको खर्चको हिसाब गर्ने हो भने कुनै एउटा गन्तव्य पहिचान गर्न पुग्थ्यो होला ।

Facebook Comment

छुटाउनुभयो कि?