सरकारले पर्यटन दशक मनाउन गर्‍यो निजी क्षेत्रसँग छलफल

पर्यटन बजार२८ भाद्र २०७९, मंगलवार मा प्रकाशित

सरकारले पर्यटन दशक मनाउन गर्‍यो निजी क्षेत्रसँग छलफल

भदौ २८,काठमाडौं। पर्यटन मन्त्रालयले पर्यटन वर्ष २०२३-२०३३ मनाउन सरोकारवालासँग छलफल गरेको छ।

छलफलमा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको बताए। पर्यटन विकासको लागि सरकारले नीतिगत सुधार तथा अन्य सहजीकरणको काम गर्ने उनले बताए। श्रेष्ठले मुलुकलाई युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन मन्त्रालयले पहल गर्दै आएको जानकारी दिए।

दशक पर्यटन महोत्सवमार्फत मुलुकले दीगो रुपमा विदेशी मुद्राआर्जन गर्न सक्ने मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। उनले सन् २०३२ सम्म ३५ लाख पर्यटक ल्याउने लक्ष्य रहेको जानकारी दिए।

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड पछि पर्यटनमा थुप्रै समस्या देखिएपनि एक अर्कोसंग समन्वय गर्दै अगाडि बढेको बताए।

यसैगरी पूर्व सभासद छायाँ शर्माले पर्यटनका विषयमा नीतिगत छलफल गर्न र यसलाई राज्यको प्राथमिकतामा पार्न पर्यटनसँग सम्वद्ध छुट्टै संसदीय समिति आवश्यक रहेको बताइन्।

कार्यक्रममा पूर्व पर्यटन राज्य मन्त्री याङकिला शेर्पाले निजी क्षेत्रको सहकार्यबाट मात्रै पर्यटन वर्ष सफल हुने बताईन्।

वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन दशक घोषणासँगै विस्तृत कार्यक्रम र बजेटको सुनिश्चिचता आवश्यक रहेको बताए। यसैगरी वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पर्यटन दशक भन्दा पर्यटन विकासको लागि दशकको अवधारणा उपयुक्त हुने बताए।

यस्तै होटल संघ नेपालका अध्यक्ष सिर्जना राणा र पर्यटन व्यवसायी विजय अमात्यले तत्काल भ्रमण दशकको कार्ययोजना ल्याउन मन्त्रालयलाई सुझाव दिएका छन्। पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दीपकराज जोशीले दशक मनाउँदा हरेक वर्षलाई कुनै एक थिममा राखेर मनाउँदा उपयुक्त हुने बताए।

कार्यक्रममा प्यासिफिक एशिया ट्राभल एशोसिएसनका सचिव तथा कोषाध्यक्ष सुमन पाण्डे, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यद्वय दीपक महत र गणेश सिंखडा, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टसका अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ ,नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारी, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालका अध्यक्ष निलहरि बाँस्तोला, पर्यटन व्यवसायी विक्रम पाँडे, अशोक पोखरेल लगायत सहभागी थिए।

Facebook Comment

छुटाउनुभयो कि?