ट्रेकिङ ब्यवसायको चुक्ता पुँजी घट्यो , ब्यवसायी उत्साहित

पर्यटन बजार६ आश्विन २०७९, बिहीबार मा प्रकाशित

ट्रेकिङ ब्यवसायको चुक्ता पुँजी घट्यो , ब्यवसायी उत्साहित

असोज ६, काठमाडौं । बागमती प्रदेश सरकारले ट्रेकिङ कम्पनीको चुक्ता पुँजी घटाएको छ। प्रदेश पर्यटन ऐन २०७८ ले ट्रेकिङ कम्पनीको चुक्ता पुँजी २५ लाखबाट दोब्बर बढाएर ५० लाख रुपैयाँ बनाएको थियो ।
नयाँ निर्णयअनुसार चुक्ता पुँजी २५ लाख नै कायम भएको छ। ऐन जारी भएदेखि नै पर्यटन व्यवसायीहरूले चुक्ता पुँजी घटाउन बारम्बार लबिङ गर्दै आएका थिए।

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को पुरानो कार्यसमिती चुक्ता पुँजी घटाउन गरिरहेको पहललाइ नयाँ कार्यसमितिले समेत निरन्तरता दिदै पर्यटन क्षेत्रका समस्याहरू समाधान गर्न सङ्घ र प्रदेश सरकारलाई दबाब बढाएका थिए ।

टानका नवनिर्वाचित अध्यक्ष निलहरी बास्तोला नेतृत्वको टोलीले केहीदिन अघि पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग पनि साक्षात्कार गरेका थिए । उक्त भेटमा पर्यटन क्षेत्रका थुप्रै समस्याहरूको बारेमा टानको टोली र मन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।

टानका पदाधिकारीहरूले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठसँग पनि विभिन्न चरणमा छलफल गरेका थिए । टानका नवनिर्वाचित अध्यक्ष निलहरी बास्तोलाले आफू निर्वाचित भएपछि चुक्ता पुँजी घटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सरकारले चुक्ता पुँजी घटाएपछि पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?