Binita Siwakoti १२ मंसिर २०७९, सोमबार मा प्रकाशित
मंसिर १२ ,काठमाडौँ। धेरैको इच्छा हुन्छ हातमा क्यामेरा लिएर विश्व यात्रामा निस्किने र विश्वका फरक फरक भाषा सिक्ने, नयाँ नयाँ संस्कृति जान्ने , नयाँ नयाँ भेसभुसामा आफूलाई सजाउने , नयाँ गन्तव्यका नयाँ विशेषतालाई उजागर गर्ने र विश्वभरिका फरक फरक वातावरणलाई नियाल्दै यसैमा हराउने।
तर, चाहेर पनि सबैका यी सपना पुरा हुन सक्दैनन्। सामाजिक कारण , आर्थिक कारण यस्तै विविध कारणमा मानिस बाँधिएको हुन्छ। तर त्यो बन्धन लाई तोडेर अघि बढ्नेको जमात पनि कम छैन यहाँ। त्यस्तै सपना बोकेर विश्व यात्रामा निस्किएको एक जोडी हो मदिना र कायलको। बिश्वयात्रामा निस्कने योजना त्यति लामो होइन उनीहरूको।
सन् २०१९ मा विश्व महामारीको रूपमा फैलिएको कोरोनाले भरेको एक उडान हो , यो जोडीको बिश्वयात्रा। यो यात्रा मा अग्रपंतिमा देखिन्छिन् मदिना र उनलाई सपोर्ट गर्दै सँगै साथ दिइरहेका छन् मदिनाका श्रीमान् कायलले।
क्यानेडियन नागरिक मदिना केही महिना अघि पहिलो पटक नेपाल आएकी थिइन्। नेपालको केही साताको बसाइ , नेपाली पहिरनको प्रवर्द्धन , नेपाली खानाको प्रस्तुति , नेपाली गन्तव्यको प्रचार सँगै आफ्नो बसाइलाई बिट मार्दै उनी अर्को देश प्रस्थान गरिन।
नेपालबाट फर्केपछि पनि उनलाई नेपालको याद आउन छाडेन , नेपालीले देखाएको माया , सद्भाव , सम्मान र यहाँको सुन्दरताले उनलाई फेरी नेपाल आउन बाध्य बनायो। सोही अनुरूप अहिले नेपालमा छन मदिना र कायल।
असोज ५ गते नेपाल आएको यो जोडी काठमाडौँ ,भक्तपुर ,ललितपुर ,चितवन ,मुक्तिनाथ, मुस्ताङ, घान्द्रुक,दमौली , बिरगंज , पोखरा लगायतका विभिन्न स्थानमा पुगेर त्यहाँको भेषभुषा ,खाना ,संस्कृति , र पर्यटकीय गन्तव्यलाई उजागर गर्नमा व्यस्त छन् ।
जनवरी ३ सम्म नेपाल मै बसेर अझै धेरै गन्तव्य घुम्ने र त्यहाँका विशेषताको बारेमा सबैलाई जानकारी गराउने मदिना बताउँछिन्।
बिश्वयात्रामा निस्कनु अघि मदिना एक कम्पनीमा सोसियल मिडिया च्यानललाई सञ्चालन गर्ने काम गर्थिन। त्यसपछि उनले आफ्नै मार्केटिङ कम्पनी सञ्चालनमा ल्याइन जसलाई कोभिड महामारीले लामो समय चलन दिएन। उता कायल अमेरिकन आर्मी थिए तर चोटपटक लागेपछि उनी पनि आर्मी छाडेर एउटा सरकारी कार्यालयमा काम गर्दै थिए।
तर यी दुवैको बाटो मोडियो लक डाउनले। जहाँ फिल्म मेकिङ्गमा डिग्री लिएका कायल र सुन्दर र मिठो बोलीकी धनी मदिनाले विश्व यात्रामा निस्कने योजना बुने। सोही योजना अनुरूप मदिना अहिले मोडल बनेकी छिन त कायल उनका भिडियो डाइरेक्टर। करिब ४ महिनाको लामो यात्रामा नेपाल आएको यो जोडीले दसैँ , तिहार पनि नेपाल मै मनाएको छ।
नेवारी लुगा ,गुरुङ लुगा , तामाङ लुगा, थारु लुगा लगायतका थुप्रै पहिरनमा सजिएर टिकटक बनाउँदा खुसी लाग्ने मदिनाले बताइन। साथै ठाउँ अनुसारका विविध र नयाँ स्वादका खानेकुरा खान पाउँदा स्वर्गीय आनन्द लाग्ने उनी बताउँछिन्।
“नेपाल साँच्चै नै स्वर्ग जस्तो छ , यहाँ जतिको विविधता मैले आजसम्मको यात्रामा कतै देखेको छैन ” उनले बताइन।
नेपालका बारेमा भिडियो हेरेर थुप्रै मानिसले उनलाई नेपालको बारेमा सोध्ने र आफू पनि नेपाल भ्रमणमा आउन चाहेको बताउने गरेका छन्। त्यस्तो खालको म्यासेजले उनलाई थप खुसी प्रदान गर्ने गर्दछ। कम्तीमा आफ्नो सानो प्रयासले नेपाल आउने पर्यटकको केही सङ्ख्या बढे पनि आफूले गरेको मेहेनतको नतिजा देखिने मदिना बताउँछिन्।
खर्च कसरि म्यानेज गर्नुहुन्छ , हामीले प्रश्न गर्यौ ?
नन स्टप टुरमा निस्किएका उनीहरूको खर्च , स्पन्सर , भिसा , गन्तव्य, होटेल , मिटिङ , सम्पूर्ण कुराको व्यवस्थापन मदिनाका श्रीमान् कायलले नै गर्ने गर्दछन्। साथै टिकटक , युट्युब र इन्स्टग्रामबाट पनि केही आर्थिक सपोर्ट हुने मदिनाले बताइन।
हरेक दिन यात्रा गर्दा विभिन्न समस्याको सामना गर्नुपरे पनि समाधानका बाटो खोजेर अघि बढ्दा त्यति गाह्रो नहुने उनको अनुभव छ।
यात्रा अघि रिसर्च
अहिले यति धेरै गन्तव्यमा पुग्दा पनि उनीहरूले कुनै गाइड वा कुनै सहयोगी राखेका छैनन्। नयाँ गन्तव्यमा जानु अघि त्यस स्थानको बारेमा राम्रो सँग गुगलमा हेरेर मात्र यात्रा सुरु गर्ने गरेको उनले सुनाइन। “हामीले अहिले सम्म कुनै गाइड राखेका छैनौँ , हामी जहाँ जान्छौँ त्यहीँ नयाँ साथी बनाउने प्रयास गर्छौँ , नयाँ साथी बाटै त्यहाँको भेसभुसा र खानेकुराको जानकारी लिन्छौँ , टिकटक बनाउने गीतको बारेमा सोधी खोजी गर्दछौँ , जसले गर्दा हामीलाई त्यस ठाउँमा घुम्न सहज हुने गर्दछ ” उनले भनिन।
हालसम्म मदिनाले इजिप्ट , केन्या ,तान्जानिया ,यु ए इ ,पाकिस्तान , श्रीलङ्का , थाइल्यान्ड , नेपाल लगायतका देशका कुना कुनामा पुगेर प्रवर्द्धन गरिसकेकी छन्। जसमा दोहोर्याएर उनी पुगेको देश हो, नेपाल। नेपाल फेरी पनि आउने उनको योजना छ।
नेपाल जति सुन्दर छ , त्यति नै नेपालका मानिसहरूले मदिनाको मन जितेका छन्। नेपालका संस्कृति ,खाना , जैविक विविधता ,रहनसहनलगायतका थुप्रै कुराले मदिनालाई मोहनी लगाएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit