पर्यटन बजार३ पुष २०७९, आईतवार मा प्रकाशित
३ पुस, पोखरा । पर्यटकीय नगरी पोखरामा जिपलाइन, बञ्जीजम्प, स्वीङ लगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको हाइग्राउन्ड एडभेन्चर प्रालिले पर्यटकलाई लक्षित गरी हालै एटिभी राइडिङ सञ्चालनमा ल्याएको छ ।
कम्पनीले सुरु गरेको एटिभी राइडिङमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढेको कम्पनीका निर्देशक दिनश महर्जनले बताए । ‘पछिल्ला समयमा पोखरामा आउने पर्यटक यहाँ सञ्चालित जिपलाइन, स्वीङ, बञ्जी आदिमा आकर्षित बन्दै गएका छन्’, उनले भने ।’
पोखराको साहसिक पर्यटनको बढ्दो आकर्षणलाई देखेर हाइग्राएनड एडभेन्चर प्रालिले पोखरामा नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालनमा ल्याएको उनले बताए । उनका अनुसार एटिभी राइडिङमा फोर ह्वीलर चक्का कच्ची रोडमा सहजै गुड्ने गरी बनाइएको हुन्छ ।
कम्पनीका कर्मचारी राजेश लम्साल मोटरसाइकल चलाउनेले यो सजिलै चलाउन सक्ने बताउँछन् । फेवातालको किनारमा चलाउने गरी व्यवस्था गरेको कम्पनीले आउने पर्यटकलाई प्रारम्भमा सेदीस्थित कार्यालयमा प्राविधिकबाट यसका विधि र प्रत्रियाबारे जानकारी गराउने गरिएको उनले जानकारी दिए ।
‘नयाँका लागि हामीले कार्यालय परिसरमा नै टेस्टड्राइभ गराउँछौँ’, निर्देशक महर्जनले भने, ‘टेस्ट ड्राइभका लागि टेस्ट ट्रेल निर्माण गरेका छौँ ।’ अनुभवीका लागि सेदी–भकुण्डे–सेदीको आठ किलोमिटर दूरीको मार्ग निर्धारण गरिएको उनले जानकारी दिए । उक्त सडक भकुण्डेसम्म एक किलोमिटर पक्की छ भने सात किलोमिटर कच्ची रहेको छ ।
यसमार्ग पार गर्न करिब दुई घण्टा समय लाग्ने र उक्त मार्गमा फेवाताल, जङ्गल, खोलानाला आदिको प्रत्यक्ष अनुभव लिन सकिन्छ । कम्पनीमा हाल एटिभी गाडी आठवटा रहेको बताउँदै उहाँले बढ्दो आकर्षणलाई दृष्टिगत गरी आठवटा थप्न लागिएको बताए ।
नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालन गरिएको उल्लेख गर्दै महर्जनले यसले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन थप सहयोग पुग्ने विश्वास लिइएको बताए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit