इलामका प्रख्यात स्थल कन्याम र अन्तुमा पर्यटकको भीडभाड

पर्यटन बजार१८ पुष २०७९, सोमबार मा प्रकाशित

इलामका  प्रख्यात स्थल कन्याम र अन्तुमा पर्यटकको भीडभाड

पुष १८, इलाम।इलामका प्रख्यात पर्यटकीय स्थल कन्याम र अन्तु इसाको मरणकालपछि चलेको इस्वी संवत् २०२३ नयाँ वर्ष मनाउने पर्यटकले  भरिएका छन् । सधैँजसो पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा नयाँ वर्ष मनाउन पर्यटक उल्लेखनीय सङ्ख्यामा आउँदा यी दुई पर्यटकीय स्थल भरिएका हुन् ।

सधैँ भीडभाड हुने यी क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको चाप बढ्ने भएर कोठा नपाइने भएपछि पर्यटकले अग्रिम रूपमा होटल, होमस्टे  बुकिङ गरेको अन्तुका होमस्टे सञ्चालक रुद्र घिमिरेले बताए । उनका अनुासर अन्तुका सबैजसो होटल, होमस्टे शुक्रबारदेखि आइतबारका लागि बुकिङ भएका थियो । घिमिरेले भने, “अङ्ग्रेजी नयाँ वर्ष मनाउन यस पटक भारतीय पर्यटकको ओइरो लागेको छ ।”

अन्तुमा ६४ भन्दा बढी सामुदायिक र निजी होमस्टे अनि ५० भन्दा बढी होटल तथा कटेज सञ्चालनमा छन् ।

झुल्केघामको दृश्यावलोकन गर्न अन्तुमा पर्यटक आउने गरेका छन् । यस्तै अन्तु पोखरीमा डुङ्गा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटक रुचाउँछन् । झिसमिसेमै बङ्गालको खाडीबाट लालघामको झुल्कोले सेताम्मे कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल रङ्गाउँदै अन्तुडाँडालाई चुम्बन गर्दा पर्यटक फुरुङ्ग बन्छन् ।

चियाबारी, फूलबारीभित्र चिटिक्कै सजाइएका काठेघर अनि स्थानीय उत्पादनको स्वाद चखाउँदै चलाइएका होमस्टेले पर्यटकलाई तान्ने गरेको अन्तु आएका आन्तरिक पर्यटक बताउँछन् । कन्याम पनि नयाँ वर्ष मनाउने पर्यटकले खचाखच छ । पर्यटकले आइतबारसम्मका लागि सबै होटल बुक गरेका थिए । कन्यामका होटल व्यवसायी टेकराज गिरीका अनुसार ढिलो गर्दा बास पाइँदैन भनेर पर्यटकले अग्रिम बुकिङ गरेका हुन् ।

नेपाल र भारतका पर्यटकले अन्तु र कन्याममा नयाँ वर्ष मनाउने गर्दछन् । “विगत तीन– चार वर्षदेखि अङ्ग्रेजी नयाँ वर्ष पर्वकै रूपमा यहाँ मनाउन थालिएको छ,” गिरीले भने । कन्यामका चियाबारीमा रमाउने पर्यटक बढी भेटिन्छन् । विभिन्न जातजातिको वेशभूषामा सजिएर तस्बिर खिचाउनेदेखि चियाको स्वाद चाख्नसम्म पर्यटक आउने गरेका छन् ।

सूर्योदय नगरपालिकाले कन्याममा पर्यटकलाई लक्षित गरी सेल्फी पार्क, टिकटक पार्क र निजी लगानीमा स्काई वल्कसमेत निर्माण गरिएको छ । पर्यटक राति अबेरसम्म कन्याममा रमाउने गरेका छन् ।

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले दुई देशबीचको सामिप्य अङ्ग्रेजी नयाँ वर्षले बढाएको बताए । उनले भारतीय पर्यटक अन्तु र कन्याम आउन रुचाउने गरेको पनि बताए । नयाँ वर्ष मनाउने पर्यटकले इलामको पानीटार, सन्दकपुरलगायतका क्षेत्रसमेत भीडभाड छन् ।

Facebook Comment

छुटाउनुभयो कि?