आन्तरिक पर्यटकले भरिए चितवनका होटल

पर्यटन बजार१८ पुष २०७९, सोमबार मा प्रकाशित

आन्तरिक पर्यटकले भरिए चितवनका होटल

पुष १८,चितवन। लामो समयदेखि सुस्ताएको चितवनको पर्यटन क्षेत्र अंग्रजी नयाँ वर्षले भरिभराउ छ । पर्यटकको पर्खाइमा रहेका यहाँका होटल शुक्रबारदेखि आन्तरिक पर्यटकले भरिएका थिए ।

अन्य दिनको तुलनामा शनिबार यहाँका होटल भरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । कोरोना, आर्थिक मन्दीका कारण सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ वर्षले राहत दिएको उनले बताए । शनिबार मात्रै ७० प्रतिशतभन्दा धेरै होटल भरिएको सङ्घले जनाएको छ । नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

चितवन आएका पर्यटकको रोजाइ सौराहा भए पनि जिल्लाका पटिहानी, मेघौलीलगायतका क्षेत्रका होटल पनि भरिएको पर्यटन व्यवसायीले बताएका छन् । पटिहानीस्थित सोल्टी होटलका निर्देशक ऋषि न्यौपानेका अनुसार पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारले एक हप्ताका लागि होटल बुक गरेकाले अन्यलाई राख्न पाइएको छैन । पटिहानी र मेघौलीका दर्जनभन्दा धेरै होटल नयाँ वर्षमा भरिएको पश्चिम चितवनका पर्यटन व्यवसायीका अध्यक्ष सुबोध प्रधानले बताए । पटिहानीदेखि मेघौलीसम्मका  होटल सबै भरिएका थिए ।

सौराहाका होटल व्यवसायी महेश खनालले एक हप्तादेखि आफ्नो होटल पार्क सफारी पर्यटकले भरिएको जानकारी दिए । सौराहामा आउने पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन् ।

Facebook Comment

छुटाउनुभयो कि?