पर्यटन बजार१९ पुष २०७९, मंगलवार मा प्रकाशित
पुष १९ ,काठमाडौँ। वर्ल्ड ट्राभलर अर्थात् बिश्वयात्री क्यानेडियन नागरिक मदिना एस नेपाल भ्रमण सकेर फर्किएकी छन्। साढे ३ महिनाको नेपाल बसाइलाई बिट मार्दै उनी अहिले बङ्गलादेश प्रस्थान गरेकी हुन्।
एक बर्सभित्रमा मदिना र उनका श्रीमान् कायलले २ पटक नेपाल भ्रमण मात्र गरेनन् नेपालका कुनाकाप्चामा पुगेर त्यहाँको जीवनशैलीलाई समेत प्रचार गरे र आफैले पनि भरपुर मनोरञ्जन लिए।
असोज ५ गते नेपाल आएको यो जोडी काठमाडौँ ,भक्तपुर ,ललितपुर ,चितवन ,मुक्तिनाथ, मुस्ताङ, घान्द्रुक,दमौली , वीरगन्ज , पोखरा, इलाम लगायतका विभिन्न स्थानमा पुगेर त्यहाँको भेसभुसा ,खाना ,संस्कृति , र पर्यटकीय गन्तव्यलाई उजागर गर्नमा व्यस्त रहे ।
कहिले नेवारनी , कहिले गुरुङ्सेनी त कहिले थरुनी बनेकी उनले कपडा सँगै सोही ठाउँ अनुसारका विविध र नयाँ स्वादका खानेकुरा खान पाउँदा स्वर्गीय आनन्द लाग्ने बताएकी छन् ।
“नेपाल साँच्चै नै स्वर्ग जस्तो छ , यहाँ जतिको विविधता मैले आजसम्मको यात्रामा कतै देखेको छैन ” उनले बताइन।
हालसम्म मदिनाले इजिप्ट , केन्या ,तान्जानिया ,यु ए इ ,पाकिस्तान , श्रीलङ्का , थाइल्यान्ड , नेपाल लगायतका देशका कुना कुनामा पुगेर प्रवर्द्धन गरिसकेकी छन्। जसमा दोहोर्याएर उनी पुगेको देश हो, नेपाल। नेपाल फेरी पनि आउने उनको योजना छ।
नेपाल जति सुन्दर छ , त्यति नै नेपालका मानिसहरूले मदिनाको मन जितेका छन्। नेपालका संस्कृति ,खाना , जैविक विविधता ,रहनसहनलगायतका थुप्रै कुराले मदिनालाई मोहनी लगाएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit