पशुपतिका गाइडलाई ड्रेस कोड र आइडी कार्ड लगाउन निर्देशन

पर्यटन बजार२२ पुष २०७९, शुक्रबार मा प्रकाशित

पशुपतिका गाइडलाई ड्रेस कोड र आइडी कार्ड लगाउन निर्देशन

पुष २२ ,काठमाडौँ।  पशुपतिनाथमा तिन लेयरको सुरक्षाको व्यवस्था गरिएको पशुपति क्षेत्र बिकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताएका छन्। पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपले आयोजना गरेको पशुपतिमा  भक्तजनको सुरक्षा विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पशुपति र आसपासका क्षेत्रमा भारतीय पर्यटकलाई सहज र सुरक्षित वातावरणमा दर्शन गर्ने व्यवस्था मिलाउन पशुपति बिकास कोषले थुप्रै रणनीति बनाएको समेत उनले बताएका छन्। जसमा यही माघ १ गते देखि गाइडलाइ उस्तै ड्रेस कोड र आइडी कार्ड लगाउन र सम्पूर्ण गाइडको नाम लिस्ट  संस्कृति महाशाखामा पठाउन निर्देशन दिइएको समेत उनले जनाए।

यस क्षेत्रका फुल व्यापारीले पनि आफ्नो व्यवहार सुधार गर्नुपर्ने , गाइडले आफ्नो अनुशासन पालना गर्नुपर्ने , होटेल व्यवसायीले आफ्ना पाहुनालाई यहाँ को नियम कानुनको बारेमा सचेत गराउनुपर्ने र स्वयम् भक्तजनले पनि आफ्नो अनुशासनमा बस्नुपर्ने उनले बताएका छन्।

सदस्य सचिव थापाले भण्डार खाल , विद्युतीय शव गृह , कैलाश क्षेत्र, विश्व रुपा, किरातेश्वर  लगायतको क्षेत्रमा बढी जसो सुरक्षाको खाँचो रहेको र यो स्थानमा बढी गाँजा प्रयोग हुने भएकाले सुरक्षाकर्मीले यस स्थानमा सिभिल प्रहरीलाई परिचालन गरिदिन आग्रह गरे।

Facebook Comment

छुटाउनुभयो कि?