धरासायी पर्यटन क्षेत्र

पर्यटन बजार१८ माघ २०७९, बुधबार मा प्रकाशित

धरासायी पर्यटन क्षेत्र

माघ १८,काठमाडौं । सरकारले पर्यटन प्रवर्धनकालागि विभिन्न कार्यक्रमहरू र नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना नै तयार पारेपनि त्यसको प्रभावकारीता अपेक्षाकृत देखिएको छैन ।

अन्य योजनाहरूपनि यस्तै अलपत्र छन् । यसले पर्यटन क्षेत्र धरासायी बन्दै गएको छ तर, त्यसको न्यूनिकरणमा सरकार उदासिन भएको आरोप पर्यटन व्यवसायीको छ ।

सरकारले तत्कालीन पर्यटन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको थियो ।

सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पुर्याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ ।

तर पर्यटक दशक मनाउने योजना भने ओझेलमा परेको छ । पर्यटकीय नगरी मानिने पोखरामा अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको छ ।

त्यस्तै विदेशी पर्यटकको रोजाईमा पर्ने काठमाडौंको ठमेल पनि यति बेला सुनसान जस्तै छ । केही मात्रामा आन्तरिक पर्यटक आए पनि विदेशी पर्यटक शून्य हुँदा होटल सञ्चालनमा समस्या भएको व्यवसायी बताइरहेका छन् ।

विदेशी पर्यटकमा कोरोनाको त्रास भने अझै हट्न सकेको छैन् । त्यसमाथि माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखरा लगायत क्षेत्रमा विदेशी पर्यटकले गरेको बुकिङ समेत रद्ध गरिरहेका छन् ।

कोरोना कै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन सरकारले छिटोभन्दा छिटो आफ्ना कार्यक्रम अगाडि ल्याउनुपर्ने माग व्यवसायीको छ ।

व्यवसायीहरु लगानी गर्ने वातावरण सिर्जना गर्न माग गर्दै सडक आन्दोलनमा छन् । तर, सरकारको नेतृत्व त्यसतर्फ उदासिन देखिन्छ  ।नेपालमा पर्यटन व्यवसायमा लाखौँ मानिस आश्रित छन् । तर सरकारले यस क्षेत्रलाई उपेक्षा गरेको होटल व्यवसायीको आरोप छ ।

मुलुकले भरखरै नयाँ नेतृत्व पाएको छ तर पर्यटन क्षेत्रमा मुलुकको नयाँ नेतृत्वले राम्रो परिणाम दिन सकिरहेको छैन । पर्यटनमात्रै होइन अन्य व्यवसाय पनि दिनप्रतिदिन खुम्चिँदै गइरहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?