मानसरोवर खुल्ने तयारी , व्यवसायी उत्साहित सँगै चिन्तित

पर्यटन बजार२४ माघ २०७९, मंगलवार मा प्रकाशित

मानसरोवर खुल्ने तयारी , व्यवसायी उत्साहित सँगै चिन्तित

माघ २४ ,काठमाडौँ। तीर्थहरूको पनि तीर्थ अर्थात् महातीर्थका रूपमा चिनिने कैलाश मानसरोवर खुल्ने खबर आए सँगै पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन्।  तीन वर्षदेखि बन्द रहेको मानसरोवर तिब्बततर्फको नाका मे महिनाबाट सुचारु गर्न लागिए सँगै व्यवसायीमा खुसी छाएको हो ।

मानसरोबर यात्रा खुल्ला गर्न अन्तिम सम्झौताको तयारी भइरहेको एसोसिएसन अफ कैलाश टुर अपरेटर्सका उपाध्यक्ष कृष्णप्रसाद ढकालले बताए ।

 कैलाश मानसरोवर यात्रा बन्द हुँदा व्यवसायीसहित तीर्थ यात्रीहरू निराश बनेका थिए भने तिब्बतको नाका खोल्ने कुराले नयाँ सम्भावना र उत्साह बढाएको ढकालले बताए ।

 यो यात्रा खुल्नासाथै नेपालमा पनि पर्यटकहरू बढ्ने छन् भने ट्राभल, होटेल व्यवसायी , मजदुर सबैले रोजगारी पाउनेमा आफू विश्वस्त रहेको उनले बताए।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का  प्रथम उपाध्यक्ष तथा अल्पाइन कैलाश ट्रेकका प्रबन्ध निर्देशक प्रदीप पण्डित भन्छन् , 
विगत ३ वर्ष देखि बन्द रहेको कैलाश मानसरोवर यात्रा सुचारु हुनु एकदमै खुसी को कुरा हो। नेपालमा पर्यटनको अफसिजन को रूपमा मानिने समर सिजनमा हुने यस यात्रा ले नेपाल का होटेल तथा पर्यटन संग सम्बन्धित अरू व्यवसाय चलायमान गराउन मद्दत गर्छ । हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र स्थल कैलाश मानसरोवर जाने नेपाल प्रवेशद्वार रहेको हुनाले यसबाट नेपाल को पर्यटन ले पनि ठुलो फाइदा उठाउन सक्छ।

साथै पशुपतिनाथ , मुक्तिनाथ दामोदर कुण्ड जस्ता नेपालका तीर्थस्थलमा पनि पर्यटकको वृद्धि हुन्छ।  नेपाल बाट सबै भन्दा सजिलो र छोटो नाका तातोपानी (सिन्धुपाल्चोक) विगत लामो समय देखि बन्द हुँदा व्यवसायी तथा तीर्थयात्रीले दुख व्यहोर्नु परेको छ , साथै मुस्ताङको कोरला नाका चाँडो भन्दा चाँडो खुलाउन सरकारले पहल गर्न जरुरी छ । जसले गर्दा कैलाश जाने तीर्थ यात्रीले पोखरा , मुक्तिनाथको पनि भ्रमण गर्ने र उनीहरूको नेपाल बसाई लम्बिने हुँदा नेपालको पर्यटनलाई फाइदा पुग्न सक्छ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष तथा लिफ होलिडेजका सञ्चालक गोपाल थापा भन्छन् , 

पहिलो कुरा त विगत ३ वर्ष देखि बन्द रहेको कैलाश मानसरोवर यात्रा अहिले खुल्दै गर्दा पर्यटक बढ्नेमा आसावादी छु। कैलाश मानसरोवर यात्रा नेपालको पर्यटकीय अफसिजनमा हुने हुनाले नेपालको पर्यटकीय बजारमा खुसी छाउनु स्वाभाविक हो , अझ भन्नु पर्दा होटेल , हवाई क्षेत्र मा यसको सकारात्मक प्रभाव देखिने छ।  मुख्यतः कैलाश मानसरोवर यात्रा संचल गर्ने अपेरटरहरु लाई यो खबर ले पक्कै पनि खुसी बनाएको छ।

त्यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले केरुङ नाका खुल्यो भने विशेष गरी भारतीय पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुने बताए । पर्यटकहरू नेपाल हुँदै कैलाश जानुपर्ने भएकाले नेपालमा उनीहरूको बसाइ लम्बिने हुँदा कैलाश खुल्नु एकदमै सकारात्मक रहेको उनले तर्क गरे।  धार्मिक पर्यटकलाई बढाउन र नेपालका गन्तव्यको भ्रमण बढाउन  समेत यस टुरले मद्दत गर्ने निर्देशक लामिछानेले बताए।

कैलाश यात्रा सुचारु हुने खुसी सँगै सो कुराले व्यवसायीमा चिन्ता समेत थपेको छ। कैलाश सञ्चालनमा सिन्डिकेट लगाउने तयारीले गर्दा साना व्यवसायी चिन्तित देखिन्छन् । कैलाश टुर्स अपरेटर्सका एक सदस्यका अनुसार केही सीमित व्यवसायीले तिब्बतको विदेशी मुद्रा केन्द्र (Foreign Exchange Center )का सञ्चालकलाई प्रभावमा पारेर उनीहरू मार्फतबाट मात्र परमिट जारी गराउने कोसिस गरिरहेको बुझिन आएको बताएका छन् । अझै कैलाश यात्रा सञ्चालन गर्ने नेपाली कम्पनीले तिब्बतको विदेशी मुद्रा केन्द्रमा लगेर ६० हजार डलर डिपोजिट गर्न पर्ने कुराहरू आइरहेका छन् जुन नेपालको नियम कानुन विपरीत पनि रहेको उनले बताए ।

उनी भन्छन् “यस्ता कुराहरूमा नेपाल राष्ट्र बैङ्क को ध्यान जान जरुरी छ। राष्ट्रमा विदेशी मुद्राको संचिति कम भइरहेको यस समयमा विदेशमा लगेर एउटा कम्पनी ले ६० हजार डलर डिपोजिट गर्ने र सिन्डिकेट लगाउने कोसिस गर्ने काम नियम विपरीत र आपराधिक समेत छ। जताततै माफिया करण भइरहेको अहिलेको समयमा कैलाश यात्रामा पनि माफिया करण हुने हो भने धेरै व्यवसायी पलायन हुने अवस्था आउने छ।  यसमा राज्यले नजर लगाउनु जरुरी छ।”

कैलाश मानसरोवर जान भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेको समाचार आइरहँदा चिनियाँ पक्षले  कोभिड महामारीलाई देखाउँदै सीमा नाका बन्द गरेको थियो।

कैलाश मानसरोवर यात्रा काठमाडौँ–ल्हासा हवाई मार्ग, काठमाडौँ–हिल्सा स्थल मार्ग, काठमाडौँ–केरुङ रुट, काठमाडौँ–तातोपानी रुट हुँदै जान सकिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?