पर्यटन बजार१४ फाल्गुन २०७९, आईतवार मा प्रकाशित
फागुन १४,काठमाडौं । एकान्त र साहसिक गतिविधि मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । तीन तलाको गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदी खोलामा निस्कन सकिन्छ ।गुफामा रहेका ताल तलैया र स-साना झरनाले मन रोमाञ्चित बनाउँछ ।
जाडोमा न्यानो र गर्मीमा चिसो हावा बहनु गुफाको फरक विशेषता रहेको अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्व अध्यक्ष नारायण अधिकारीले बताए । उनका अनुसार गुफाभित्र बनेका आकृतिमा मनले सोचे अनुसार महादेव, पार्वती, शिवलिङ्ग, पाँच पाण्डव, शङ्ख, चक्र, हात्तीको सुँड, आदि प्राकृतिक आकृति आँखाले देख्न सकिने छ ।
सदरमुकाम कुश्माबाट १५ मिनेटको पदयात्रा गरी अल्पेश्वर गुफा पुग्न सकिन्छ । दुई वटा अग्ला तथा लामा झोलुङ्गे पुल कुश्मा-ज्ञादी र खरेहा-अधिकारीचौर पुल तरेपछि सजिलै गुफामा पुग्न सकिन्छ । यद्यपि पर्यटक आकर्षित गर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन ।
‘बाहिर जिल्लादेखि शैक्षिक तथा संस्थागत भ्रमण, पारिवारिक घुमघाम र प्रेमिल जोडी अग्लो पुलको अवलोकन र मज्जा लिन आउने गर्छन् तर उनीहरूलाई छेउमै रहेको गुफासम्म लान सकिएको छैन’, स्थानीय राजबाबु पिसीले भने, ‘स्थानीय सरकारको पर्यटनलाई हेर्ने दृष्टिकोण साँघुरो छ, पर्यटनसम्बन्धी कुनै चेत नै छैन, उनीहरूले बाटो र भवन बनाउने कुरालाई मात्र विकास सम्झन्छन् ।’
समथर र रमणीय ज्ञादीको फाँट हुँदै पुग्न सकिने गुफाको बाहिरी भागबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पञ्चासे र डहरे देउरालीको लेक देख्न सकिन्छ । अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्व अध्यक्ष सुरेश पिसीका अनुसार त्यहाँबाट मोदी खोला, कालीमाटीको रमणीय डाँडा र बागलुङको भैरव थान मन्दिरसमेत देख्न सकिन्छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit