पर्यटन बजार३० फाल्गुन २०७९, मंगलवार मा प्रकाशित
फागुन ३०, मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ ।
विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष हिमपात भएन । हिमपात नहुँदा हिउँ छुन र खेल्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो । तर, वसन्त ऋतु सुरु भएसँगै हिमपात हुँदा अहिले पर्यटकको आवागमन बढेको छ । पर्यटकको आवागमनले अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ ।
बेमौसममा सुनसान रहने मनाङ अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छ । हिमपात भएको अवस्थामा पदयात्रा गर्दा जोखिम मोल्नुपर्ने भए पनि यसवर्ष त्यस्तो जोखिम छैन । अहिले जोखिम नहुँदा पर्यटकलाई पदयात्रा गर्न सहज भएको छ । पदमार्गअन्तर्गत लमजुङको बेसीशहरदेखि पर्यटक पैदलयात्रा गर्ने पर्यटकको सङ्ख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङले जनाएको छ ।
सिजन सुरु भएसँगै मनाङमा पर्यटकको चहलपहल बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसार दैनिक रुपमा ५० भन्दा बढी पर्यटक मनाङ भित्रिन थालेका छन् । सन् २०२३ को सुरुआतमै ४२ देशका पर्यटक मनाङ भित्रिएका छन् ।
सन् २०२३ पहिलो महिना जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश अनुमति लिएका उनले बताए। उनका अनुसार जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएका थिए । “विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुने हो, तर यसवर्ष पर्न सकेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो, सिजन सुरु भएपछि अहिले पर्यटक मनाङ भित्रिन थालेका छन्”, गौतमले भने ।
नयाँ वर्षको योजनाअनुरुप दक्षिण कोरियाका पर्यटक मनाङ भ्रमणमा आएको उनले बताए। कोरियन नागरिक यहाँभन्दा बढी चिसोमा बसिरहेका हुन्छन्, जसले गर्दा हिउँदमा कोरियाका पर्यटक बढी आउने गरेको उनको भनाइ छ ।
हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताललगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको उनी बताउँछन्। “विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिन्छौं । यो मार्ग जोखिमयुक्त भएकाले जानकारी पनि दिन्छौं”, गौतमले भने।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit