यो तालमाथि सञ्चालन गरिएको नेपालकै पहिलो जिपलाइन हो । छ सय मिटरभन्दा बढी लम्बाइ रहेको यस जीपलाइन इन्द्रसरोबर १ छरदार दोबाटोबाट शुरू भई इन्द्रसरोबर तालमाथिबाट टौमाठको दरकोट भन्ने ठाउँमा सकिन्छ ।
क्लासिक, टेण्डम (जोडी) र सूपरम्यान गरि ३ किसिमका जिपलाइन गर्न सकिने सञ्चालक योञ्जनले जानकारी दिए । जिपलाइनमा दुई वटा तारमा दुई जना सँगसँगै जान सक्नेछन् । एकअर्कालाई हेर्दै जान सकिने सो जिपलाइन निकै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।
कम्पनीले करिब २ करोड रुपैयाँ लगानीमा जिपलाइन सञ्चालनमा ल्याएको हो । इन्द्रसरोबरलाई काठमाडौं र हेटौंडा नजिकको पर्यटन हब बनाउने गरि अगाडि बढेको यस परियोजनाले सो स्थानमा अन्य विभिन्न पर्यटकीय गतिविधिहरू सञ्चालनको तयारी गरेको छ ।
कम्पनीले स्काइ वाक, मिनी बन्जी अर्थात फ्रि फल लगायतका गतिविधि सञ्चालनको तयारी गरिरहेको सञ्चालक योञ्जनले बताए ।
सञ्चालकद्वय योञ्जन र राजकुमार बलामीले सो परियोजनामा लगानी गरेका हुन् । ७ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालन हुने यस परियोजना कम्पनीको करिब ३ रोपनी जग्गामा फैलिएको छ ।
जिपलाइन गर्दै तालको अवलोकन गर्न सकिने यस जिपलाइन चढ्नेले फर्कँदा डुंगा चढ्न पाउनेछन् । शुरुवाती चरणमा प्रतिव्यक्ति १ हजार ७ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै फोटो तथा भिडियोका लागि अतिरिक्त ५ सय रुपैयाँ तिर्नुपर्ने छ ।