अलपत्र अवस्थामा पर्यटक सुचना केन्द्र !

पर्यटन बजार१२ चैत्र २०७९, आईतवार मा प्रकाशित

अलपत्र अवस्थामा पर्यटक सुचना केन्द्र !

चैत १२,काठमाडौं । बेनीमा स्थापना गरिएको पर्यटक सूचना केन्द्र दुई वर्षदेखि अलपत्र बनेको छ । मुस्ताङ प्रवेशद्वारका रूपमा रहेको कालीपुल बसपार्कमा स्थापना गरिएको सूचना केन्द्र सञ्चालनमा आर्थिक र व्यवस्थापकीय समस्या भएपछि अलपत्र परेको हो ।

बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा चार वर्षअघि पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याएका थिए । अहिले उक्त केन्द्र बन्द मात्र होइन, अलपत्र परेको छ । सूचना केन्द्रलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउन आर्थिक व्यवस्थापन गर्न समस्या भएपछि बन्द भएको जनाइएको छ ।

“वि.सं. २०७५ लाई म्याग्दी भ्रमण वर्षका रूपमा मनाउँदा पर्यटकले सूचना लिन सहज होस् भनेर म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा सूचना केन्द्र स्थापना गरेका थियौँ,” म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष तथा पर्यटन अभियन्ता राजेश शाक्यले भने, “कोरोनाका कारण बन्द हुन पुगेको हो, अब नयाँ तरिकाले सञ्चालनको तयारी गरेका छौँ ।”

पर्यटन सूचना केन्द्रमा पर्यटन बोर्डले म्याग्दीका पर्यटकीय स्थलको फ्रेमसहित फोटाहरू, मोना हङकङले ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन, म्याग्दी उद्योग वाणिज्य सङ्घले कर्मचारी व्यवस्था र अन्य पर्यटकीय क्षेत्रमा चासो र काम गर्ने संस्थाले जिल्लाभित्र पर्ने पर्यटकीय क्षेत्रको म्याप, गाइड बुक र ब्रोसर राखेका थिए । म्याग्दीका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न र जिल्ला आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पद मार्गसम्बन्धी अन्योलमा मद्दत गर्न तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले २०७५ वैशाख ३१ गते उक्त सूचना केन्द्र उद्घाटन गरेका थिए ।

जिल्लाका कृषक तथा महिला उद्यमीले उत्पादन गरेका कृषि उपज, हस्तकलाका सामग्री, अचारसहितका सामग्रीको कोसेली घरसहित पर्यटन सूचना केन्द्रलाई थप व्यवस्थित गर्ने योजना रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए । केन्द्रको मर्मतसम्भार गरेर कोसेली घरसहित सूचना केन्द्र आगामी वैशाख १ गतेदेखि सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?