पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

पर्यटन बजार१७ चैत्र २०७९, शुक्रबार मा प्रकाशित

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

१७ चैत, वागलुङ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटक पुग्ने गरेका हुन् । छेउमै रहेका रिगताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ । बागलुङ र पूर्वीरुकुम दुवैतर्फबाट सहजरूपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाइमा पातीहाल्ने पर्न थालेको हो ।

रिगताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका-१ मा पर्छ । पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामा रिगताल पुग्न सकिन्छ भने आधा घन्टामा तिलाचन ताल पुग्न सकिन्छ ।

रिगतालसम्म मोटरबाटो पुगेको हुँदा आगन्तु गाडीमा पनि पुग्न सक्छन् । बाह्रै महिना पर्यटकले भरिने पातीहाल्ने यो समय अझ बढी आएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान)ले बताउनुभयो । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा यी ठाउँको प्रचार–प्रसार तीव्ररूपमा भएको हुँदा पातीहाल्ने पर्यटकको रोजाइमा परेको बताउनुभयो । केही वर्ष अगाडि निसीखोला गाउँपालिकाले पातीहाल्नेबाट रिगतालसम्म सडक पु¥याए पनि अहिले सीमा विवादका कारण पर्यटन पूर्वाधार बन्न नसकेको अध्यक्ष बुढामगरको भनाइ छ ।
‘पहिले त यहाँका चर्चा खासै थिएन, जब मध्यपहाडी लोकमार्ग कालोपत्र भयो त्यसयता हजारौँ पर्यटक यहाँ आएर रमाउने गरेका छन्, ठाउँ निकै रमणीय छ, यहाँ थुप्रै पूर्वाधार निर्माण गर्नुपर्ने छ’, अध्यक्ष बुढामगरले भने, ‘अहिले केही समस्या परेको हुँदा काम गर्न सकिएको छैन, समस्या समाधान भयो भने पालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिएको छ।’

Facebook Comment

छुटाउनुभयो कि?