देशका प्रमुख तीन पर्यटकीय गन्तव्य ठमेल, सौराह र पोखरालाई चौबिसै घण्टा खुल्ला खुल्नुपर्छ

पर्यटन बजार८ श्रावण २०७६, बुधबार मा प्रकाशित

देशका प्रमुख तीन पर्यटकीय गन्तव्य  ठमेल,  सौराह र पोखरालाई चौबिसै घण्टा खुल्ला खुल्नुपर्छ

साउन ८ ,पोखरा । पोखराको लेकसाइडमा पर्यटकको चाहानालाई मध्य नजर राख्दै २४ सै घण्टा खुला गर्न सरकारले शान्ति सुरक्षाको प्रत्याभूत गरे व्यवसाय सञ्चालन गर्न सकिने पोखराका व्यवसायीले बताएका छन् । 

नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौको ठमेल, चितवनको सौराह र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको छ । सो विषयमा कास्की प्रशासनले सरोकारवाला बीच छलफल चलाएको थियो । सरकारले आवश्यक पुर्वाधारको विकास गरी शान्ति सुरक्षाको प्रत्याभूत गराउन सके व्यवसाय सञ्चालन गर्न सकिने पर्यटन व्यवसायीले बताए । लेकसाइडलाई पर्यटकको एउटा आकर्षक गन्तव्य बनाउन अब विकल्प सोचेर पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने व्यवसायीहरुको धारणा राखे ।  

‘लेकसाइड ११ बज्न नपाउँदै सुनसान हुन्छ, प्रमुख पर्यटकीय गन्तब्य लेकसाइडमा प्रहरीले सुरक्षा प्रदान गर्न सके खोल्नु उपयुक्त हुन्छ’ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया भने । ‘होहल्लाको व्यवस्थापन गरेर यहाँका स्थानीय बासिन्दाको जीवनमा असर नपर्ने गरी सुरक्षाको व्यवस्था दिन सके होटल रेष्टुरेण्ट खोल्दा धेरै फाइदा हुन्छ ।’ 

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पोखरेलले लेकसाइडमा ५ खर्ब बढिको लगानी रहेको र अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि पोखराको पर्यटन बजार फराकिलो हुने हुँदा त्यसको वातावरणका लागि पनि चौविसै घण्टा खुल्ला हुनुपर्ने बताए । 

रेष्टुरेण्ट एण्ड बार एशोसियशनका (रेवान) पोखरा अध्यक्ष भिमसेन भुजेलले  लेकसाइडलाई चोविसै घन्टा खुल्ला गर्नका लागि ढिला भैसकेको बताए । 
‘अन्तराष्ट्रिय एयरपोर्ट बनिरहेको छ, सञ्चालनमा आएपछि  राति एक दुई  बजे पर्यटक आउँछन्, जाने कहाँ ?’, उनले भने । 

 अहिले पनि भारतीय पर्यटक आफ्नो साधनमा पोखरा आउँदा राति ११ ÷१२ बज्ने गरेको छ, पर्यटक नै अलपत्र पर्ने गरेको उनले बताए । ‘अहिले राति १० बजे नै प्रहरीबाट हुने धरपकडले रेष्टुरेण्टमा खाइरहेका पर्यटकलाई आतंकीत पार्ने काम हुँदै आएको छ,’ उनले भने । 

अहिले उठेका सवालहरु पर्यटन बजारका लागि उपयुत्त भएपनि ढुक्क हुने आधार नभएको बताउँछन् नेपाल टुर्र एण्ड ट्राभल्स एजेन्टस् ( नाट्टा) गण्डकीका अध्यक्ष सन्तोष पोखरेल । ‘लेकसाइडमा व्यवसाय गर्नेहरुको मात्रै नभएर आवासीय बासिन्दाको पनि हो, दुई पक्षबीच द्वन्द्व सृजना भयो भने यसले नकारात्मक असर पुर्याउँछ,’ उनले भने । 

राज्यले यहाँको भौतिक पुर्वाधारमा चासो दिएको छैन, रातमा बत्ति छैन, बाटोभरी खाल्डा खुल्डी छ, नालीको उचित प्रबन्ध छैन, सुचना बोर्ड छैन, सिसिटिभिले पूर्ण रुपले काम नगर्ने उनले बताए ।

महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रलाई ब्यवस्थित र पर्यटन मैत्री बनाउने पहिलो जिम्मेवार निकाय राज्य रहेको बताइन् ।  ‘राज्यले पर्यटनमैत्री नीति नियम बनाएर सुरक्षाको प्रत्याभुति दिलाउनु पर्छ, लेकसाइड २४ औ घण्टा खुला गर्न हामी तयार छौ,’ उनले भनिन् । रासस

Facebook Comment

छुटाउनुभयो कि?