पर्यटन बजार८ भाद्र २०७७, सोमबार मा प्रकाशित
भदौ ८ ,काठमाडौँ। हिमाली जिल्ला डोल्पामा विषालु च्याउ खाँदा चारजना सिकिस्त बिरामी परेका छन् । ठूलीभेरी नगरपालिकामा पर्ने पोखेपानी पाटनमा गोठालो बसेको अवस्थामा तरकारीको रूपमा च्याउ खाँदा चारजना सिकिस्त भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
बिरामी पर्नेमा ठूलीभेरी नगरपालिका– ७ का ३१ सूर्यबहादुर शाही, उत्तम शाही, वडा नं. ८ का सत्यबहादुर शाही र कमलबहादुर शाही रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
उनीहरूले आइतबार साँझ च्याउ खाए पनि सिकिस्त परेको खबर सोमबार बिहान ७ बजे मात्र आफूहरूकहाँ आएको र त्यसलगत्तै घटनास्थलमा प्रहरी खटाइएको प्रजिअ सुनारले बताए । उनीहरू चारैजनालाई उपचारका लागि सिम्रिक एयरको हेलिकाेप्टरमा नेपालगन्ज पठाइएको छ ।
बिरामी कुरुवासहित आठजना भएकाले सिम्रिक एयरले दुई उडान गरेको प्रशासनले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हेलिकाेप्टर चार्टर्ड गरी बिरामीलाई नेपालगन्ज पठाइएको बताउँदै चारैजनाको अवस्था सिकिस्त रहेको ठूलीभेरी नगरपालिकाले जानकारी दिएको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit