पर्यटन बजार२१ भाद्र २०७७, आईतवार मा प्रकाशित
आज संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्रि योगेश भट्टराई आफ्नो जन्मदिन मनाउदै छन्। आजको जन्मदिनलाई मन्त्रि भट्टराई ले केहि फरक बनाउने प्रयास समेत गरेका छन्। उनले एसिड अट्याक मा परेकी मुस्कान खातुनलाई सहयोग गरेर आफ्नो जन्मदिनलाई बिशेष बनाएका छन्।मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी रहेको छ ।
खातुनको सहयोग बारे उनले सामाजिक संजाल फेसबुकमा जानकारी गराउंदै यस्तो लेखेका छन्।
गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ । हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो । जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाए उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु । केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ ।
को हुन् खातुन
गत साल भदौ २० गते बिहान करिब ६ बजेतिर घरबाट विद्यालय हिँडेकी १४ वर्षीया मुस्कान खातुनमाथि वीरगञ्जमा एसिड प्रहार भयो। कक्षा ९ मा पढ्दै गरेकी वीरगञ्ज छप्कैया– ३ की मुस्कानले एक युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनीमाथि एसिड प्रहार भएको थियो।
यसरी भएकाे थियाे एसिड आक्रमण
अन्य दिन जस्तै शुक्रबार पनि मुस्कानले आफ्नो नित्यकर्म सकिन्। खाजा खाइन्। स्कुलका लागि तयार भइन्। झोला बोकेर स्कुलका लागि घरबाट निस्कन लाग्दा आमाले उनलाई रोकिन्। मुस्कानलाई भाइसँगै स्कुल जान भनिन्।
मुस्कानका भाइ पनि उनी पढ्ने स्कुलमै कक्षा ७ मा पढ्छन्। अन्य दिन दिदीसँगै स्कुल जाने भाइ त्यसदिन गृहकार्य नगरेको भन्दै स्कुल जान मानेनन्। स्कुल नजाने भए पनि आमाले दिदी (मुस्कान) लाई स्कुलको गेटसम्म छोडेर आउन भनिन्।
आमाको कुरालाई स्वीकार्दै भाइले लुगा लगाउन थाले। ढिलो गरेको देखेर मुस्कानले भाइलाई आफ्नो पछाडि–पछाडि आउँदै गर्न भन्दै भाइभन्दा अगाडि घरबाट निस्किइन्।
मुस्कान घरदेखि केही टाढा पुगेकी थिइन्। उनलाई पछाडिबाट कसैले आवाज दियो, ‘ओई, मुस्कान रुक् न, मुस्कान रुक् न!’ तर मुस्कानले आफूलाई स्कुलका लागि ढिलो भएको भन्दै उही रफ्तारमा हिँडिरहिन्।
एक युवकले मुस्कानलाई आवाज दिइरहेका थिए। आवाज अझै रोकिएन। ती युवकले मुस्कानलाई फेरि भने,‘मुस्कान नरुके पनि एक पटक यता हेर् न, मुस्कान एकपटक त पछाडि फर्की।’
मुस्कानले टाउका पछाडिपट्टि धुमाएकी मात्र के थिइन्, एक्कासी ती युवकले जगबाट एसिड ह्वात्तै अनुहारमा फ्याँकिदिए। मुस्कानले एसिड छेक्ने प्रयास गरिन्। तर एसिड उनको दाँया पट्टिको अनुहार, छाती र हातमा पर्यो। उनको शरीरमा एसिड पर्ने बित्तिकै उनी एकाएक भुइँमा बजारिएर लडिबुडी गर्न थालिन्। मुस्कानका पछाडि–पछाडि हिँडिरहेका भाइ डराए।
मुस्कान छट्पटिन थालेपछि सँगै पढ्न जाने साथीहरुले उनलाई अस्पताल पुर्याए।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit