पर्यटन बजार२७ भाद्र २०७७, शनिबार मा प्रकाशित
भदौ २७, काठमाण्डौ। कोरोना महामारीका बेला मानव स्वास्थ्यमा असर गर्ने खालको रसायनद्वारा निर्मित स्यानिटाइजर बिक्री वितरण भइरहेको पाइएको छ।
कोरोना रोकथामका लागि हातमा लगाइने केही स्यानिटाइजर कम्पनीका उत्पादनमा विषाक्त रसायन भेटिएको हो।औषधी व्यवस्था विभागले विभिन्न ती पाँच कम्पनीले उत्पादन गरी बजारमा पठाएका स्यानिटाइजर प्रयोग नगर्न सुझाव दिएको छ।शनिबार एक सूचना प्रकाशित गरी विभागले ती कम्पनीको स्यानिटाइजरमा विषाक्त रसायन रहेकाले मानव स्वास्थ्यमा असर पर्ने जनाएको हो।
राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डविपरीतका मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने रसायन देखापरेको विभागले जनाएको छ।
ती कम्पनीमा भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्री, सर्च केमकम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्टस रहेका छन्।
यी कम्पनीले बजारमा बिक्री वितरण गरिरहेका इन्सटेन्ट ह्यान्ड सेनिटाइजर, इन्सटेन्न्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, एड्भान्स ह्यान्ड स्यानिटाइजर, इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी ह्यान्ड स्यानिटाइजर छन्।
हानिकारक रसायन प्रयोग गरेको पाइएपछि यी कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ।
यी उद्योगबाट उत्पादित स्यानिटाइजरमा मिथानोल अल्कोहलको मात्रा राखिएको देखिएको छ। सेनिटाइजरमा इथानोलअल्कोहलको मात्रा राखिनुपर्छ।मिथानोल अल्कोहल कडा गन्धको रंगहीन तरल हो। यो एक विषाक्त पदार्थ हो, जुन आँखा, छाला, मिर्गौला, हात-खुट्टा, स्नायु प्रणालीमा असर पर्छ। अंगभंग हुने जोखिम हुन्छ। पिएको खण्डमा मृत्यु पनि हुन सक्ने औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए।
‘हामीले यी कम्पनीको उत्पादनमा रोक लगाएका छौं, राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा ८३ प्रतिशतसम्म मिथानोल अल्कोहल भेटिएपछि उत्पादन बन्द गराएका हौं,’ ढकालले भने।
मिथानोलयुक्त स्यानिटाइजरले स्नायु प्रणालीमा तत्कालै असर गरेको देखिएको उनले बताए। यसले हात-खुट्टा थर्थराउने (पार्किन्सन्स) खालको रोग पनि निम्त्याउने जोखिम रहेको उनले बताए।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit