पर्यटन बजार२९ आश्विन २०७७, बिहीबार मा प्रकाशित
असोज २९, काठमाडौं । बहराइनको मानामास्थित एक सुपरमार्केटमा काम गर्ने चितवनका मधु पन्तले आइतबार दशैंका लागि घरमा खर्च पठाए । घरको दुःख हटाउने सपना बोकेर विदेशिएका उनलाई जसोतसो जोरजाम गरेर पैसा पठाउन सकेकोमा ठूलो सन्तोष मिलेको छ ।
‘कोरोना महामारी भएपनि गाउँघरमा दशैंको माहोल हुन्छ, खर्च हुन्छ, त्यही भएर खर्च त पठाउनै पर्छ,’ अनलाइनखबरसँग टेलिफोनमा पन्तले भने, ‘बालबच्चालाई नयाँ लुगा किनिदिनै पर्छ, घरमा मासु, मरमसला आदि चाहिहाल्छ ।’
उता साउदी अरेबियामा नारायण रिमाल कार्यरत कम्पनी महामारीपछि राम्रोसँग चलेको छैन । तर, सरसापटी गरेरै भएपनि उनले दशैं अघि नै घरमा खर्च पठाउनेवाला छन् ।
‘घरमा मिठोमसिनो जुटाउन र दानदक्षिणा गर्न यताबाट पैसा नहाली हुँदैन,’ उनी भन्छन्, ‘यो वर्ष कमाइ छैन, तर साथीभाइबाट समस्या टार्ने सुरमा छु ।’
हरेक साल दशैं आउन लाग्दा वैदेशिक रोजगारीमा रहेका नेपाली युवामा आर्थिक दबाब बढ्न थाल्छ । उनीहरुले नेपालमा परिवारलाई जसरी पनि खर्च पठाउनैपर्ने बेला हो, यो ।
यो वर्ष कोरोना महामारीले गर्दा स्वदेश, विदेश सबैतिर धेरै असहज अवस्था छ । विदेशमा धेरै नेपालीको कार्य अवधि (वर्किङ आवर) कटौती भएको छ । काम गरेर सयममै तलब नपाएका र पूरै कामविहीन बनेकाहरु पनि उत्तिकै छन् । महामारीका कारण धेरैको आम्दानी घटेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit