पर्यटन बजार१६ कार्तिक २०७७, आईतवार मा प्रकाशित
तराई मै पहाड साथै चिसो मौषम , जो कोहीलाई सुन्दा अचम्म लाग्न सक्छ । अचम्म मान्नु पर्दैन किन की मिनी माउन्टेन ले धेरैको माउन्टेन हेर्ने इच्छा लाई परिपूर्ति गर्न सक्छ । वारी समतल जमीन, हरियाली वन, छेउमै सुन्दर झुलुङ्गे पुल , बीचमा खोला सँगै ढुङ्गा ले थपेको सुन्दरता, खोला पारी सुन्दर पहाड । हो यही सुन्दर पहाड लाई भन्ने गरिन्छ मिनी माउन्टेन।
कमेरे ढिस्कोले बनेको सुन्दर र सानो पहाड, जसले धेरै आन्तरिक पर्यटक लाई तान्न सफल बनेको छ । काँकडभिट्टादेखि करिब २० किमि ग्राभेल बाटो छिचोलेपछि पुगिने यहाँ पनि आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ । यो ठाउँ बाहुनडाँगी ७ र इलामको जिर्मले ८ मा पर्दछ ।करिब १० बिघा क्षेत्रमा फैलिएको यो क्षेत्रमा पहाड र तराई दुवैको मौसम अनुभव गर्न सकिन्छ ।
पहाड उक्लिएपछि चिसो र झरेपछि तातो अनुभूति हुन्छ । केही वर्ष अघिसम्म यहाँ आउन स्थानीय पनि डराउँथे भने अहिले थामिनसक्नुको भीड लाग्ने गरेको स्थानीय बताउँछन्। यहाँको मुख्य आकर्षण कमेरे माटोबाट बनेको पहाड नै हो । चिरा–चिरा परेको पहाड लोभलाग्दो र आश्चर्यजनक छ । छेवैमा निन्दा नदी सुस्काउँछिन् ।
यस स्थानको खास नाम भने कृष्ण थुम्की हो ।द्वापर युगमा भगवान श्री कृष्णले यस स्थानमा गाई चराएको हुनाले यस स्थानको नाम कृष्ण थुम्की रहन गएको किम्बदन्ती छ। झापा जिल्लाको सुदुर उत्तर–पूर्वी गाविस बाहुनडाँगी वडा नं. ७मा मेची नदी र सिद्धी नदीको संगममा रहेको कृष्णथुम्की धार्मिक एवं ऐतिहासीक दृष्टिकोणले अयन्तै महत्त्वपूर्ण छ। वरिपरि समथर जमीन रहेको स्थानमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिन्छ।
कृष्णथुम्कीमा एउटा चेप्टो ढुङ्गामा मानव र गाईको पद चिन्ह अङ्कित छ। कृष्णथुम्कीमा, कृष्णथुम्की र अन्य ५ वटा थुम्की समेत जम्मा ६ वटा थुम्कीहरू रहेका छन्। यहाँ रहेको कृष्णथुम्कीवाहेक अन्य ५ वटा थुम्कीहरूलाई पाँच पाण्डवको प्रतिकको रूपमा लिने गरिएको पाइन्छ। यी थुम्कीहरूबाट झापा जिल्लाको अधिकांश क्षेत्र र भारतको केही क्षेत्रको दृश्यावलोकन समेत गर्न सकिन्छ ।
यस मिनी माउन्टेन ले प्रचार प्रसार पाउन सके स्थानिय पर्यटक मात्र होइन ७७ नै जिल्लाका पर्यटक हरुलाई मन्त्रमुग्ध पार्ने र अन्तराष्ट्रिय पर्यटकलाई समेत आकर्षित गर्ने क्षमता राख्दछ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit