कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित
काठमाडौँ, १२ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका अमिर अल थानी नेपालको भ्रमण पूरा गरी आज अपरान्ह स्वदेश फिर्ता हुनुभएको छ ।
कतारी अमिर अल थानीको नेपाल भ्रमण पर्यटनका हिसावले महत्वपूर्ण मानिएको छ । खाडी मुलुकबाटै पहिलो पटक भएको विशिष्ट भ्रमणले नेपालको पर्यटनलाई विश्वबजारमा थप प्रवद्र्धन गर्न टेवा पुग्ने सरोकारवाला बताउँछन् । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा कतारका अमिरको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुहुन्छ ।
कतारबाट धेरै पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपाल आउने गरेका उहाँको भनाइ छ । वरिष्ठ पर्यटन व्यवसायी शेर्पाले भन्नुभयो, “कतारी अमिर अल थानीको भ्रमणले नेपालको पर्यटनलाई धेरै सघाऊ पुग्छ । कतार विकसित मुलुक हो । मध्यपूर्वी कतार, बहराइन, कुवेतलगायत मुलुकबाट ‘हाइ इन्ड’ पर्यटक नेपाल आउने क्रम बढेको छ ।” उहाँले पछिल्लो समय नेपालमा ‘हाइ इन्ड टुरिस्ट’ बढ्दो क्रममा रहेकाले कतारबाट नेपाल आउने पर्यटक बढ्न सक्ने बताउनुभयो ।
खासगरी कतारको राजपरिवारका सदस्यहरु नेपालमा पदयात्रा र पर्वतारोहणका लागि आउने गरेका छन् । कतारका शेख मोहम्मद बिन अब्दुल्लाह अल थानी विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो कतारी नागरिक हुनुहुन्छ । उहाँले सन् २०१३ मे २२ मा सगरमाथा र सन् २०२० नोभेम्बर ११ मा अमादब्लमको सफल आरोहण गर्नुभएको थियो ।
यस्तै कतारको राजपरिवारका सदस्य शेख अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । यसरी कतारी राजपरिवारका सदस्यहरु पछिल्लो समय नेपालको सगरमाथासहितका हिमाल आरोहण र चर्चित पदयात्रामा आउने गरेका छन् । कतारका शेख तथा खर्चालु पर्यटक महङ्गा र लग्जरी होटल तथा रिसोर्टमा बस्न चाहने भएकाले सोही अनुरुप नेपालममा पनि लग्जरी होटल एकपछि अर्को थपिदैछन् ।
मुस्ताङको सिन्तामणी, चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टलगायतका लग्जरी होटल कतारलगायत खाडी मुलुकका राजपरिवार सदस्य र महङ्गा पर्यटकका लागि उपयुक्त हुने होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले बताउनुभयो । कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रका लागि राम्रो सन्देश दिएको उहाँ बताउनुहुन्छ ।
कतारका अमिरको नेपाल भ्रमण आफैमा महत्वपूर्ण छ । विश्वको उदीयमान मुलुक कतारको विश्वव्यापी रुपमा प्रभाव छ । त्यसैले कतारका विशिष्ट व्यक्तिको भ्रमणबाट नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न मद्दत पुग्छ”, उहाँले भन्नुभयो । अध्यक्ष शाहका अनुसार कतारका अमिरको भ्रमणले विश्वलाई नेपालको सन्देश दिएको छ ।
कतार, युनाइटेड अरब इमिरेटस् (युएई)लगायत मुलुकबाट विगतमा पनि राजपरिवारका सदस्यहरु पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा नेपाल आएका थिए । “कतारका अमिरको भ्रमणबाट होटल व्यवसायी उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो, “यो विशिष्ट भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश दिएको छ ।” वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “एयरलाइन्स र श्रमिक बजारको मूख्य मुलुकको प्रमुख आउनु नेपालका लागि महत्वपूर्ण कुरा हो, उहाँलाई राज्यले दिनुपर्ने सम्मान पनि दिएको छ । यसले आगामी दिनमा वाह्य पर्यटन आवगमनमा बढोत्तरी हुने विश्वास छ ।” विश्वका सेलिब्रेटी मानिने व्यक्तिको भ्रमणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरेको छ ।
त्यसैले कतारका अमिरलगायत विशिष्ट व्यक्तिको नेपाल भ्रमण र यहाँ भएका पर्यटनसँग सम्बन्धित विभिन्न ठूला इभेन्टले नेपाललाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्न मद्दत पुगेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कतारका राजाले सोल्टीमा बसेर द्वारिकाज होटलमा ‘लञ्च’ खाएको विषयले लग्जरी सेवामा पनि नेपाल अब्बल छ भन्ने सन्देश गएको छ ।
यो भ्रमणले नेपाल गन्तव्यको विश्वभर प्रचार–प्रसार भएको छ । यसले नेपालको पर्यटनमा सकारात्मक उत्साह जगाएको छ ।”
Comment / Rely From